काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालविरुद्ध खेद प्रस्ताव पारित भएको छ।
महासंघकी अध्यक्ष भवानी राणाविरुद्ध सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै आएका ढकालविरुद्ध महासघंको पदाधिकारी बैठकले खेद प्रस्ताव पारित गरेको हो।
शुक्रबार बसेको पदाधिकारी बैठकमा उपाध्यक्ष किशोर प्रधानले खेद प्रस्ताव दर्ता गराएका थिए। दर्ता भएको खेद प्रस्तावमा अध्यक्ष राणाले सोमबार हस्ताक्षर गरेसँगै प्रस्ताव पारित भएको एक पदाधिकारीले बताए।
पूर्वअध्यक्ष ढकालले अध्यक्ष राणाको मानमर्दन गरेको भन्दै प्रधानले खेद प्रस्ताव दर्ता गराएका थिए।
बैठकमा ढकालको पक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल र उमेशलाल श्रेष्ठले मात्रै बोलेको बाँकी सबैले खेद प्रस्तावको पक्षमा समर्थन जनाएको बुझिएको छ।
ढकाल समूहले लकडाउनकै बीच साधारणसभाको मिति तोक्न दबाब दिएको थियो। अध्यक्ष राणालगायत अधिकांश सदस्यहरुले यतिबेला साधारण सभाको समय तोक्न नहुने बताउँदै आएका छन्।