न्युयोर्क – न्युयोर्कका मेयर बिल डी ब्लासियोले न्युयाेर्क सहरमा एक सातादेखि लगाइएको निषेधाज्ञा हटाएको घोषणा गरेका छन्।
मिनियापोलिस राज्यमा प्रहरी नियन्त्रणमा एक अश्वेत व्यक्ति जर्ज फ्लोएडको मृत्यु भएपछि भड्किएको हिंसा र प्रदर्शनका कारण न्युयोर्क सहरमा एक सातासम्म निषेधाज्ञा लगाइएको थियो। अराजक र उग्र भीडले न्युयोर्कमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो।
मेयर ब्लासियोले ट्विटरमार्फत निषेधाज्ञा हटाइएको घोषणा गरेका छन्। न्युयोर्क सहरको ७५ वर्षको इतिहासमा पहिलोपटक निषेधाज्ञा जारी गरिएको थियो।
कोरोना भाइरस महामारीका कारण झन्डै दुई महिना लकडाउन गरिएको न्युयोर्कमा आर्थिक गतिविधिलाई पुनर्जीवित तुल्याउन पहिलो चरणको खुला गर्ने तयारी गरिएको छ।
अमेरिकाकै सबैभन्दा बढी जनघनत्व रहेको न्युयोर्कमा २१ हजारभन्दा बढी व्यक्तिको कोरोना भाइरसका कारण ज्यान गएको थियो।
अधिकारीहरुका अनुसार पहिलो चरणमा निर्माण र उत्पादनका कार्यहरु पुनः खुला हुनेछन्। खुद्रा पसलहरुमा मानिसको भीडभाड नहुने सर्तमा खुला गर्न दिइनेछ।
न्युयोर्कमा परिस्थिति नाजूक भएपछि मेयर ब्लासिओले गत जुन २ देखि निषेधाज्ञा जारी गर्नु भएको थियो। तर धेरै प्रदर्शनकारीले निषेधाज्ञा तोडेका थिए।