काठमाडौं- ग्यास बिक्रेता महासंघले ग्यासमा कमिसन बढाउन नेपाल आयल निगमसमक्ष माग गरेको छ।
आइतबार महासंघको प्रतिनिधि मन्डलले नियमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई भेटेर कोरोना संक्रमणका कारण व्यापारमा कमी आएको भन्दै ग्यासमा कमिसन बढाउन माग गरेका हुन्।
महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले कोरोनाको समस्या रहुन्जेल ग्यास बिक्रीमा पाँच प्रतिशत कमिसन दिनुपर्ने बताए। उनले भने, “कोरोना संक्रमणका कारण व्यापार घटेकाले नाफामा कमी आएको साथै ग्यास व्यापारीले आफ्नो स्वास्थ्यको पनि पर्वाह नगरी काम गरिरहेकाले कमिसन बढाउन माग गरिएको हो।”
त्यस्तै, महासंघले ग्यास बिक्रेताको कोरोना बिमा गर्नुपर्ने मागसमेत निगमसमक्ष राखेको छ।
कोरोना संक्रमणका बेलासमेत बिक्रेताले ग्याँस आपूर्ति सहज बनाएकाले उनीहरुको बिमा गरिनुपर्ने महासंघको माग छ।
महासंघका अध्यक्ष श्रेष्ठले ग्यास उद्योगहरुले प्रत्येक डिपोवाला र कामदारको कोरोना परीक्षण गरी बिमासमेत गरिदिनुपर्ने निगमसमक्ष माग गरेको जानकारी दिए।
कठिन परिस्थितिमा काम गरिरहेका बिक्रेता र मजदुरलाई राज्यले हेर्नुपर्ने भएकाले निगमसमक्ष सो माग राखेको उनले बताए।