जनकपुरधाम- प्रदेश २ मा प्रदेश राज्यमन्त्रीका सवारीचालकसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २२ जना कोरोनाका नयाँ संक्रमित थपिएसँगै प्रदेश २ मा संक्रमितको संख्या ९८१ पुगेको छ।
शुक्रबार थपिएका २२ जना नयाँ संक्रमितमध्ये एकजना आर्थिक मामिला तथा योजना राज्यमन्त्रीका २१ वर्षीय चालक रहेको बताइएको छ।
संक्रमण पुष्टि भएका राज्यमन्त्रीका चालकको स्वाब प्रदेश सांसदहरुसँगै केही दिनअघि प्रदेशसभा परिसरमा संकलन गरिएको थियो।
यसअघि बिहीबार प्रदेश २ को आर्थिक मामिला तथा योजना राज्यमन्त्रीकी महिला स्वकीय सचिवमा संक्रमण पुष्टि भएको थियो।
जिल्लागत विवरण
प्रदेश २ मा सबैभन्दा बढी रौतहटमा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहटमा ३९० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
यसैगरी सप्तरीमा ६९, सिरहामा ४७, धनुषामा ९२ र महोत्तरीमा ५२ जनामा संक्रमण पुष्टि भएको छ। सर्लाहीमा १४९, बारामा ७० र पर्सामा १११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।