आइतबार, असोज १८, २०८३

'पैसाको आगो' ताप्ने हो? केही समय पर्खनुस्

नेपालीहरूले केही समयभित्र नै पैसाको आगो ताप्न पाउने भएका छन्।
 |  शुक्रबार, साउन १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०७८

काठमाडौं‐ नेपालीहरूले केही समयभित्र नै पैसाको आगो ताप्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले काम नलाग्ने पुराना नेपाली नोटबाट ब्रिकेट बनाएर बेच्ने भएपछि पैसाको आगो ताप्न पाइने भएको हो। 

नेपाल राष्ट्र बैंकले नेदरल्याण्डबाट नोट डढाउने मेसिन ल्याइसकेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र डेपुटी गभर्नर बमबहादुर मिश्रले मेसिनको परीक्षण भइसकेको बताएका छन्। अब केही दिनमा नै मेसिन सञ्चालनमा आई पुराना तथा झुत्रा नोटहरू टुक्रा बनाएर ब्रिकेटको रुपमा बजारमा ल्याउने राष्ट्र बैंकको तयारी छ।

'राष्ट्र बैंकमा संकलन भएका झुत्रा र काम नलाग्ने नोट टुक्रा बनाएर ब्रिकेट बनाउने योजनासहित राष्ट्र बैंकले नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बिएसबीएस) नामक ८ वटा मेसिन खरिद गरिएको छ,' राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने। 

राष्ट्र बैंकले गत वर्ष माघमै नेदरल्याण्डको कस्पर इञ्जिनियरिङ कम्पनीसँग मेसिन खरिदको सम्झौता गरेको थियो। करिब ४ करोड रुपैयाँमा मेसिन ल्याइएको हो। राष्ट्र बैंकले अहिलेसम्म जम्मा भएका झुत्रा नोट प्रदेशस्थित कार्यालय र केन्द्रीय कार्यालयमा आगो लगाउने गरेको थियो। 

उनका अनुसार हाल नेपाल राष्ट्र बैंकको सिस्टममा १० अर्ब बराबरका पुराना र थोत्रा नोट छन्। ती सबै नोट मेसिनले राम्राजति छुट्याउने तथा झुत्रा सानो गोलो बनाएर टुक्र्याउँछ। जसबाट ब्रिकेट  बनाउनका लागि सहज हुन्छ। 

नोट प्रमाणीकरण गर्ने मेसिनले चलनचल्तीमा पठाउन मिल्ने नोट, झुत्रो नोट र सक्कली नक्कली नोट छुट्याएपछि झुत्रा नोटलाई बिएसबिएस मेसिनमा राखेर टुक्र्याएर ब्रिकेटमा परिणत गरेर इन्धनको रुपमा पुनः प्रयोगमा ल्याइने प्रवत्ता ढकालले जानकारी दिए।

हाल बजारमा ६ खर्ब ८३ अर्ब रुपैयाँ बराबरका विभिन्न दरका नोट चलनचल्तीमा छन्। उक्त मेसिनले एक पटकमा ३० लाख थान नोट झुत्रो बनाउन सक्छ। नोटलाई धुलो बनाएर ब्रिकेट बनाउनका लागि २ घन्टा समय लाग्छ। 

ब्रिकेट कति रुपैयाँमा र कसरी बिक्री गर्ने भन्नेबारेमा भने राष्ट्र बैंकले अहिले नै निर्णय गरिसकेको छैन। तर, सो ब्रिकेट विभिन्न उद्योग तथा आम मानिसको पनि पहुँचमा पुग्ने राष्ट्र बैंकले जनाएको छ। अबको केही समयमा नै पैसाबाट ब्रिकेट उत्पादन गरिने प्रवक्ता ढकालले जानकारी दिए।

प्रकाशित: Jul 30, 2021| 10:00 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्