कोरोना भाइरस (कोभिड-१९)को संक्रमण दक्षिण एसियामा पनि तीव्ररुपले बढिरहेको छ। दक्षिण एसियामा कोरोना संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या भारतमा सर्वाधिक छ।
सीएनएनका अनुसार त्यहाँ शुक्रबार दिउँसो २ बजेसम्म (नेपाली समयअनुसार) दुई लाख २७ हजार २९ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभरको जनसंख्याको २० प्रतिशतभन्दा बढी बसोबास भएको भारतमा धेरै मानिसलाई संक्रमण हुने आशंका गरिएको छ।
दक्षिण एसियामा भारतपछि संक्रमित धेरै भएको मुलुक पाकिस्तान हो। त्यहाँ ८६ हजार १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्या कोरोना भाइरसको उद्गमभूमि चीनभन्दा बढी हो। चीनमा ८३ हजार २७ जना मात्रै संक्रमित छन्।
दक्षिण एसियामा संक्रमणका आधारमा पाकिस्तानपछि क्रमशः बंगलादेश, अफगानिस्तान, नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान तेस्रोबाट आठौं स्थानमा छन्।
बंगलादेशमा ५७ हजार पाँच सयभन्दा बढीलाई संक्रमण पुष्टि हुँदा अफगानिस्तानमा झन्डै १९ हजार जनालाई संक्रमण देखिएको छ।
नेपालमा भने अहिलेसम्म दुई हजार ६ सय ३४ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, माल्दिभ्समा एक हजार ८७२, श्रीलंकामा एक हजार ७९७ र भुटानमा ४८ जना संक्रमित छन्।
दक्षिण एसियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि भारतमै बढी छ। त्यहाँ अहिलेसम्म ६ हजार ३४३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। दक्षिण एसियामा कोरोनाबाट मृत्यु हुनेमा भारतपछि पाकिस्तान, बंगलादेश, अफगानिस्तान, श्रीलंका, नेपाल र माल्दिभ्स क्रमशः दोस्रोबाट सातौं स्थानमा छन्।
भुटानमा भने अहिलेसम्म कोरोनाबाट कसैको ज्यान गएको छैन।