एजेन्सी- लकडाउन भएपछि भारतमा ठूलो संख्याका श्रमिकहरु सहरी केन्द्रबाट पैदल भोकै प्यास आफ्नो गाउँ फर्किए । कतिको लामो थकानपूर्ण यात्राको कारण ज्यानै गयो ।
त्यसबेला उनीहरुलाई सहरमा बसाउने वा सुरक्षित गाउँ फर्काउने कोही थिएन।
अहिले भने केही निर्माण कम्पनीहरुले यि श्रमिकलाई विमानबाट फिर्ता ल्याइरहेको समाचार भारतीय मिडियामा आएका छन्। विमान बाहेक उनीहरुका लागि एसी ट्रेनको टिकटको व्यवस्था पनि हुँदै छ।
ठूलो संख्यामा श्रमिक घर फर्केपछि केही निर्माण ठेकेदारहरु समस्यामा छन्। भारतमा लकडाउन खुकुलो पारेको छ र निर्माण कार्य साथै उद्योगहरु चल्न थालेका छन्। तर काम गर्ने श्रमिकहरु छैनन्।
विशेषगरी त्यस्ता कम्पनीलाई समस्या भइरहेको छ, जसको परियोजना चाँडै सम्पन्न हुने अवस्थामा छन्। त्यसैले उनीहरुले पटना, लखनऊ, राँची जस्ता सहरबाट श्रमिकहरुलाई विमानमा ल्याउन थालेका छन्।
हैदरवादको रियल स्टेट समूह प्रेस्टिज समूहका सुरेश कुमारले द टाइम्स अफ इन्डियासँग भनेका छन्, ‘अहिले संकट छ, त्यसैले मजदुरलाई ल्याउन अतिरिक्त रकम खर्च गर्नै पर्ने अवस्था छ।’ उनको कम्पनीले भर्खरै पटनाबाट १० जना सिकर्मीलाई विमान यात्रा गराउँदै हैदरवाद ल्याएको छ।
त्यस्तै अर्को निर्माण कम्पनीले ३०० श्रमिकलाई एसी ट्रेनबाट ल्याउन थालेको पत्रिकाले उल्लेख गरेको छ। कम्पनीले उनीहरुलाई प्रति व्यक्ति १० हजार भारु अग्रिम पनि दिने भएको छ।