काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आबद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ।
२५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारदेखि १.२५ मेगावाट सञ्चालनमा आएको हो। सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युत् गृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ। सोलारबाट दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुनेछ।
प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत् केन्द्रका नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ।
२५ मेगावाट जडित क्षमताको ग्रिडमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो।
आयोजनाको १० मेगावाट विद्युत् डेढ महिनाभित्र ग्रिडमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। बाँकीको काम अगाडि बढिरहेको तर प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको घिसिङले बताए।
‘वैशाखभित्र १५ मेगावाट ग्रिडमा जोड्ने गरी काम भइरहेको थियो तर लकडाउनका कारण निर्माण प्रभावित हुँदा केही ढिला भयो’, उनले भने, 'सोलारबाट उत्पादित विद्युत् जोडिएसँगै नेपालको प्रणालीमा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बढी रहेकोमा अब ऊर्जाका विभिन्न स्रोतको विविधीकरण हुँदै प्रणालीमा ऊर्जा मिश्रण बढ्दै गएको छ।’
सरकारले दीर्घकालीन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्देश्यले आगामी दस वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत् आयोजनाको उत्पादन समिश्रण अनुपात लागू गरेको छ।
प्रणालीमा जलाशययुक्त तथा पम्प स्टोरेज ३०/३५ प्रतिशत, पिकिङ रन अफ द रिभर २५/३० प्रतिशत, रन अफ द रिभर ३०/३५ प्रतिशत र अन्य वैकल्पिक स्रोत ५/१० प्रतिशतबमोजिमको अनुपात कायम रहने व्यवस्था छ।
विद्युत् केन्द्रको कर्मचारी आवास क्षेत्रनजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानल जडान गरिएको छ।
अहिले देवीघाट विद्युत् गृह नजिकको एक ठाउँमा राखिएको प्यानलबाट उत्पादन भएको विद्युत् प्रणालीमा जोडिएको हो।
एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुनेछ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ।
देवीघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६/३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ।
सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत वैकल्पिक व्यवस्था गरी सोलारबाट उत्पादित विद्युत् प्रणालीमा जोडिएको आयोजना प्रमुख विकासबहादुर रघुवंशीले जानकारी दिए।
विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो। सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्ने छ।
कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्नेछ। कम्पनीले प्लान्टबाट वार्षिकरुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेन्टेड इनर्जी) आपूर्ति गर्नु पर्नेछ।
प्लान्ट पूर्ण रुपमा सञ्चालनमा आएपछि हिउँदमा राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्नेछ।