सरकारले कर तिर्ने समयावधि थप गरेको छ। चौतर्फी आलोचनापछि आन्तरिक राजस्व विभागले बाँकी रहेको कर तिर्ने म्याद असार ७ गतेसम्म थपेको हो।
यसअघि विभागले सूचना जारी गरी जेठ २५ गतेसम्ममा कर तिर्न भनेको थियो।
सोमबारमात्र विभागले सूचना जारी गर्दै जेठ २५ गतेभित्र कर तथा कर विवरण नबुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिएको थियो। त्यससको विरोध सर्वसाधारण, व्यवसायीदेखि सांसदहरुले समेत गरेका थिए।
गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चैत र वैशाखमा तिर्नुपर्ने करको म्याद जेठ २५ सम्मका लागि बढाएको थियो। त्यसयता सरकारले कर तिर्ने समयावधि बढाउने कुनै निर्णय गरेको छैन भने जेठ अन्तिमसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको छ।
नयाँ सूचनाअनुसार मूल्य अभिवृद्धि करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दोस्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७ कायम गरिएको छ।
यसैगरी, अन्तःशुल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशुल्क दाखिलाको म्याद पनि असार ७ नै बनाइएको छ।
विभागका अनुसार आयकर ऐनअनुसार फागुन, चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद पनि असार ७ सम्म नै थपिएको छ। यस अवधिभित्रै कर दाखिला पनि गर्नुपर्ने हुन्छ। चैतमा बुझाउनुपर्ने चालू आवको संशोधित कर अनुमान र दोस्रो किस्ता बुझाउनुपर्ने म्याद भने असार १५ सम्म तोकिएको छ।