काठमाडौं- तारा गाउँ विकास समितिले ह्यात रिजेन्सी होटलले लिजमा लिएको जग्ग्गा आफ्नो नाममा ल्याउन आग्रह गरेको छ।
समितिले मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखी ह्यात होटलका नाममा रहेको एक सय ५० रोपनी जग्गा फिर्ता ल्याउन आग्रह गरेको हो।
उक्त जग्गा मालपोत ऐनविपरीत लिजमा दिएको भन्दै लिज खारेजीसहित समितिका नाममा कायम गर्न आग्रह गरिएको छ।
ह्यात रिजेन्सी होटलले लिजमा दिइएको जग्गा उपयोग नै नभएको समितिको भनाइ छ।
मन्त्रालयले समितिलाई आफ्नो कार्यविवरण पेस गर्न निर्देशन दिएको थियो।
समितिले मन्त्रालयमा यसअगाडिका समितिको पदाधिकारीको बदनियतका कारण ह्यातमा आफ्नो सेयर संरचना घट्ने हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छानबिन गराउन पनि आग्रह गरेको छ।
केही समययता ह्यातको सेयर संचना तथा जग्गा लिजमा दिएको विषयलाई लिएर विवाद उत्पन्न भएका छन्।