काठमाडौं - अमेरिकासँग टस हारेर फिल्डिङको अवसर पाएको नेपालले २३१ रनको लक्ष्य पाएको छ। ओमनको अल इमिरेत मैदानमा जारी खेलमा अमेरिकाले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर २३० रन बनाएको हो।
अमेरिकाका लागि मोनांक पटेलले शतकीय पारी खेले। उनले ११४ बलमा १०० रन बनाएपछि बिक्रम शोबले पेवेलियन पठाए। पटेलले शतक बनाउने क्रममा एक छक्का र नौ चौका प्रहार गरे।
त्यसबाहेक अमेरिकाका निसर्ग पटेलले २१ रन बनाए। निसर्ग र मोनांकले ४९ रनको साझेदारी गरेका थिए। नेपालका लागि विक्रम शोबले पहिलो विकेट लिए भने सन्दिप लामिछानेले दोस्रो विकेट गिराए।
चौथो ओभरको पाँचौ बलमा विक्रम शोबले प्रहार गरेको बल स्टेभेन टलरको बाटमा लागेर बाहिरिने क्रममा कुशल भुर्तेलले क्याच गरेका थिए। यससँगै १४ रन जोडेका टेलर आउट भए।
नेपालका दोस्रो सफलता सन्दिपले दिलाए। १६ रन जोडेका शुसान्त मोदनीलाई उनले गुग्ली बल फालेर एलबीडब्लू आउट गराएका थिए। उनी आउट भएसँगै अमेरिकाले १० ओभरमा ४७ रन बनाएर दुई विकेट बनाएको थियो।
एक दिवसीयको पहिलो १० ओभरमा ४.७ को रन रेट राम्रो मानिन्छ। जुन अमेरिकाले बनाएको थियो। यता १० औं ओभरमा पहिलो पटक बलिङ गर्न आएका सन्दिपले मेडन राख्दै विकेट लिएका थिए।
सन्दिपले दुई विकेट लिए भने शुसन भारी र बिक्रम शोबले पनि दुई विकेट लिए। एक विकेट लिनेमा कुशल मल्ल रहे। नेपालका तर्फबाट करण केसीको बलिङ निकै खर्चिलो रह्यो। अमेरिकाका नोस्टुस केन्जिजे र करिम गोरे रनआउट भए। उनीहरुले क्रमशः १३ र १६ रन जोडेका थिए।
५ ओभर बलिङ गरेका केसीले ४१ रन खर्चिएका थिए। सन्दिपले १० ओभर बलिङ गर्दै ३१ रन दिए। नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गरिरहेका छन् भने अमेरिकाको कप्तानी सौरभ नेत्राभल्करले गरिरहेका छन्।