शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रासायनिक मलः मूल्य घटबढ ७ दिनमै, ग्लोबल टेण्डर ४५ दिनको

रासायनिक मलः मूल्य घटबढ ७ दिनमै, ग्लोबल टेण्डर ४५ दिनको

मल आयातका लागि सीमित नाकाको प्रयोग, अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा हुने घटबढलगायतका झनझट बेहोर्नु परेको समितिमा उनले बताए।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं- कृषि सचिव कृष्ण प्रसाद आचार्यले मल आयातमा झनझट बेहोर्नु परेको बताएका छन्। रासायनिक मलको सम्बन्धमा छलफल गर्न सोमबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले यस्तो बताएका हुन्। मल आयातका लागि सीमित नाकाको प्रयोग, अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा हुने घटबढलगायतका झनझट बेहोर्नु परेको समितिमा उनले बताए।

‘मल आयातका लागि सार्वजनिक खरिद ऐन अनुसार ४५ दिनको ग्लोबल टेण्डर आह्वान गर्नुपर्छ,’ उनले भने, ‘विश्वव्यापी रुपमा रासायनिक मलको मूल्य प्रत्येक ७-७ दिनमा अपडेट हुने गरेको छ।’

कहिलेकाहीँ यताबाट मलको मूल्य स्वीकृति गरिसकेपछि अन्तर्राष्ट्रिय बजारमा मूल्यको ह्वात्तै बढ्ने गरेको समेत उनको भनाइ थियो। चालु आर्थिक वर्षमा रासायनिक मलमा अनुदान दिनका लागि सरकारले १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। सो रकमले दुई लाख मेट्रिक टन मल आयात गर्न सकिने दाबी सचिव अचार्यले गरे। 

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय तीव्र गतिमा मलको मूल्य बढेका कारण चालु आर्थिक वर्षको बजेटबाट आवश्यक अनुसार मल खरिद गर्न नसकिने उनले बताए। ‘हामीले न्युनतम मूल्य भनेर टेण्डर आह्वान गर्छौं,’ उनले भने, ‘पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेको बढ्यै छ।’

सरकारी प्रक्षेपण अनुसार नेपालमा प्रत्येक वर्ष सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्ने गरेको छ। सो अनुसार सात लाख मेट्रिक टन मल आयात गर्न अहिलेको मूल्य अनुसार १५ देखि १६ अर्ब रुपैयाँ बजेट चाहिने सचिव आचार्यको दाबी छ। त्यस्तै मल आयातका लागि सीमित नाकाको प्रयोग गर्दा समेत समस्या हुने गरेको आचार्यले बताए।

अहिले विराटनगर, वीरगन्ज र भैरहवा नाकाबाट मल आयात भइरहेको भन्दै थप नाकाबाट आयात गर्न सकेमा आपूर्ति सहज हुने आचार्यले बताए। ‘मल आयातका लागि सीमित नाका मात्रै भए,’ उनले भने, ‘आउन त पहिलो पटक पोहोर साल चीनबाट आएको थियो।’

उनका अनुसार चीनबाट थप मल आयात भइरहेको छ। चिनियाँ नाकाबाट १० हजार मेट्रिक टन युरिया मल, १० हजार मेट्रिक टन डीएपी र ५ हजार मेट्रिक टन पोटास आइरहेको समेत सचिव आचार्यले बताए। 

‘२० सेप्टेम्बरसम्म १० हजार मेट्रिक टन डीएपी चीनबाट आइपुग्दैछ,’ उनले भने, ‘टोटल २५ हजार मेट्रिक टन चिनियाँ नाकाबाट आइरहेको छ।’ 

समितिकी सभापति पूर्णकुमारी सुवेदीले मलको बारेमा छलफल गर्दा-गर्दा थाकिसके पनि मलको समस्या सामाधान नभएको गुनासो गरिन्। ‘हामी मलको बारेमा छलफल गर्दा-गर्दा थाकिसक्यौं। किसान कति थाके होलान्,’ उनले प्रश्न गर्दै भनिन्, ‘अब कहिल्यै छलफल नगर्ने गरी मलको समस्या सामाधान होस्।’

प्रकाशित: Sep 13, 2021| 19:21 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्