काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले नीतिगत व्यवस्थामार्फत् निजी क्षेत्रलाई ठूलो राहत प्याकेज ल्याएको दाबी गरेका छन्।
शुक्रबार अर्थ मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले नीतिगत व्यवस्थाबाट मात्रै निजी क्षेत्रलाई करिब ६० अर्ब बराबरको राहत दिइएको बताएका हुन्।
उनले भने, “राहत सधैं नगदमा हुन्छ भन्ने हुँदैन। छुट, नगद, प्रोत्साहन वा क्षतिपुर्ति पनि हुन सक्छ।”
अर्थमन्त्रीका अनुसार विद्युत् महसुलमा दिइएको छुटले मात्रै निजी क्षेत्रलाई ८ अर्ब रूपैयाँ बराबरको राहत दिन्छ।
त्यस्तै हवाई सेवाका लागि पार्किङलगायतमा दिइएको छुटमा एक अर्ब २५ करोड रूपैयाँ बराबरको योगदान हुन्छ।
मन्त्री खतिवडाले बजेटमा व्यवस्था भएको सहुलियतपूर्ण कर्जा कार्यक्रमको राहत १४ अर्ब, राष्ट्र बैंकमार्फत ५ प्रतिशत ब्याजमा एक खर्बको पुनर्कर्जा सुविधा दिँदा सस्तो ब्याजका कारण ऋणीलाई २० अर्ब रूपैयाँको राहत पुग्ने बताए।
उनले भने, “कर छुट र विभिन्न शुल्कको छुट रकम मात्रै ६ अर्ब ५० करोड रूपैयाँ छ।”
उनले विद्युतीय गाडीलाई प्रोत्साहन गरिएअनुसार नतिजा नआएकाले कर बढाउनु परेको बताएका छन्।
“पेट्रोलियम पदार्थ खपत कम गर्न विद्युतीय सवारी आयात खुकुलो पारिएको थियो,” उनले भने, “दुई वर्षको पेट्रोलियम आयात धान्ने पैसा विद्युतीय गाडी आयातमा एकै वर्ष विदेसिने अवस्था आएकोले केही प्रतिशत कर बढाइएको हो।”