काठमाडौं- पूर्वअर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्षको बजेट भावी पुस्तालाई ठूलो ऋण बोकाउने गरी ल्याइएको प्रतिक्रिया दिएका छन्।
अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०७७ ७८ को बजेटमा प्रतिक्रिया दिँदै पूर्वमन्त्री महतले इतिहासमै सबैभन्दा बढी राष्ट्र ऋण बढ्ने बजेट पेस भएको टिप्पणी गरेका हुन्।
आर्थिक पत्रकार समाज (सेजन) सँग भएको भर्चुअल बजेट बहसमा महतले भने, 'सरकारले ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको ऋण लिने गरी बजेट ल्याएको छ। यो सरकारले आगामी पुस्तालाई ठूलो ऋण बोकाउँदै छ।'
बजेटमा लिने भनिएको ऋण कुल खर्चको ३५ प्रतिशत छ। यो कुल गार्हस्थ उत्पादनको ३६ प्रतिशत पुग्ने उनको भनाइ छ।
डा. महतले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनु भनेको जीडीपीको ५ प्रतिशतभन्दा बढी रहेको भनाइ राखे। उनले भने, सरकारले आन्तरिक ऋण जति बढाउँदै जान्छ निजी क्षेत्रका लागि उति नै तरलताको समस्या हुन्छ।
डा. महतले स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रका लागि राम्रो बजेट विनियोजन गरे पनि कतिपय नचाहिने आयोजनामा पैसा छुट्याएर प्रचारमुखी बनेको आरोप लगाए।
उनले नेपाली कांग्रेसले बजेट १४ खर्ब हाराहारीमा ल्याउन सुझाव दिए पनि अवस्थाअनुसार ठूलो आकारको बजेट ल्याएको भन्दै कार्यान्वयन क्षमतामा प्रश्न उठाए।
पूर्वमन्त्री महतले भने, ‘बजेटमा ३४ प्रतिशतले खर्च वृद्धि गर्ने भनिएको छ तर कार्यान्वयन हुने देखिँदैन। राजस्व २३ प्रतिशतले वृद्धि गर्ने भनिएको छ। यो सम्भव देख्दिनँ। कोरोनाबाट बच्न गरिएको लकडाउन कहिलेसम्म जाने हो थाहा छैन। उद्योगधन्दा चलेका छैनन् अनि कसरी राजस्व उठ्छ?'
त्यस्तै उनले सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पनि महत्वाकांक्षी रहेको बताए। डा. महतले भने, अहिलेको अवस्थामा थप लगानी गरेर उद्योगधन्दा चल्न सकेका छैनन्। बजारमा आर्थिक गतिविधि पनि भएका छैनन्। त्यसैले सो आर्थिक वृद्धि महत्त्वाकांक्षी छ।’
बजेटमा कर्पोरेट ट्याक्स घटाइएको छैन। विद्युतीय सवारीसाधन धेरै प्रयोगमा ल्याउनुपर्ने अवस्थामा १५० प्रतिशतले भन्सार लगाउनु पनि आपत्तिजनक रहेको उनको भनाइ छ।
‘विद्युतीय सवारीसाधन चलाउन प्रोत्साहन दिएर विद्युत् खपत बढाउनुपर्नेमा भन्सार बढाउनु उपयुक्त छैन’, उनले भने।