सरकारले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ।
कोभिड–१९ को संक्रमणका कारण अर्थतन्त्र खराब हुँदै गएको र बजेटको स्रोत खुम्चने भएकोले १२ खर्बभन्दा बढीको बजेट नल्याउन विज्ञहरुले सुझाव दिइरहेका बेला सरकारले झन्डै पौने १५ खर्ब बराबरको बजेट ल्याएको हो।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै बजेट प्रस्तुत गरेका हुन् ।
सरकारले चालू खर्चका लागि कुल बजेटको ६४.४ प्रतिशत अर्थात् ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ छुट्याएको छ। पुँजीगत खर्च भने २३.९ प्रतिशत अर्थात् ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ छुट्याइएको छ। त्यस्तै, वित्तीय खर्चतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११.७ प्रतिशत बजेट छुट्याइएको छ ।
चालू आर्थिक वर्षको लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख बजेट छुट्याएको थियो। चालू खर्चतर्फ ६२.४ प्रतिशत, पुँजीगत खर्चतर्फ २६.६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ११ प्रतिशत रकम छुट्इयाएको थियो ।
सरकारले आगामी आर्थिक वर्षको लागि स्रोत व्यवस्थापनतर्फ भने सामान्य लक्ष्य राखेको छ । सरकारले स्रोत व्यवस्थापनमा राजस्वतर्फ ८ खर्ब ८९ अर्ब ६२ करोड, वैदेशिक अनुदानतर्फ ६० अर्ब ५२ करोड, वैदेशिक ऋण २ खर्ब ९९ अर्ब ५० करोड र आन्तरिक ऋण २ खर्ब २५ अर्ब रुपैयाँको स्रोेत व्यवस्थापन गर्ने जानकारी दिएको छ।
चालू आर्थिक वर्षको बजेटको स्रोततर्फ सरकारले राजस्व ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, वैदेशिक अनुदान ५७ अर्ब ९९ करोड ५५ लाख, वैदेशिक ऋण २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख र आन्तरिक ऋण १ खर्ब ९५ अर्ब रुपैयाँको लक्ष्य राखेको थियो ।
सरकारले चालू आर्थिक वर्षको लागि ७ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतको मूल्यवृद्धि रहने प्रक्षेपण पनि गरेको छ ।