अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदको संयुक्त बैठकमा आव २०७७ ७८ को बजेट प्रस्तुत गरेका छन्।
उनले प्रस्तुत गरेको बजेटका उद्देश्य र प्राथमिकता यस्ता छन्,
उद्देश्य
१) संक्रामकलगायत सबै प्रकारका रोग र विपतबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने।
२) उपलब्ध साधन स्रोत, अवसर र क्षमताको उच्चतम परिचालन गरी शीघ्र आर्थिक पुनरुत्थान गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने।
३) नागरिकका मौलिक अधिकारका रूपमा रहेका आवश्यकता परिपूर्तिमार्फत राज्यको लोककल्याणकारी भूमिका बढाउने।
४ं) सामाजिक, आर्थिक र भौतिक विकासमार्फत उत्थानशील, समुन्नत, स्वाधीन, समृद्ध एवं समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने।
प्राथमिकता
१) कोरोनालगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्तरोन्नति र स्वास्थ्य जनशक्ति विकास।
२) कोरोना भाइरस संक्रमणको रोकथामकालागि चालिएका कदमबाट टुटेको आर्पूर्ति शृंखलालाई पुनर्स्थापित गर्दै कृषि, उद्योग, पर्यटन, निर्माणलगायत प्रभावित क्षेत्रको पुनरुत्थान।
३) नागरिकका लागि काम र रोजगारीका अवसर, सुरक्षित आवास, सार्वकालिक सामाजिक सुरक्षा र संरक्षण।
४) विकासको शीघ्र प्रतिफल प्राप्त हुने, आगामी वर्ष सम्पन्न हुने अधुरा आयोजनाहरूको कार्यान्वयन।
५) गुणस्तरीय र जीवनोपयोगी शिक्षा, सूचना प्रविधिको विस्तार, आधारभूत खानेपानी, लगायतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकास तथा निर्माण।
६) संघीयता कार्यान्वयन, गुणस्तरीय तथा पहुँचयुक्त सामाजिक सेवा र उत्तरदायी तथा पारदर्शी शासन व्यवस्थाको सदृढीकरण।