सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ छुट्याएको छ।
यसबाट कक्षा कोठा निर्माण, शिक्षक तालिम, प्रयोगशाला, खेल मैदान निर्माणलाई प्राथमिकता दिइने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।
यस्तै ६ हजार स्वयंसेवक शिक्षक नियुक्त गर्न २ अर्ब विनियोजन गरिएको छ भने विद्यालय तहमा निःशुल्क पाठ्यक्रमका लागि २ अर्ब ७६ करोड विनियोजन गरिएको अर्थमन्त्री डा. खतिवडाले बताए। उनका अनुसार उच्च शिक्षाका लागि १७ अर्ब ४३ करोड विनियोजन गरिएको छ।
भर्चुअल शिक्षा सञ्चालन गरिने, कोरोनाका कारण मनोसामाजिक असर न्यूनीकरण गरिने, १८०० विद्यालय भवन, ५३८ क्याम्पस भवन बनाइने आगामी आवको बजेटमा उल्लेख छ।
खतिवडाले छात्रवृत्ति कार्यक्रमलाई एकीकृत बनाउन २ अर्ब बजेट विनियोजन गरिएको बताए। माध्यमिक तहसम्म पढाउने निजी विद्यालयले एउटा सामुदायिक विद्यालयको पूर्वाधारमा सहयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
देशभरका १३ लाख छात्रालाई निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गरिनेछ। साथै बाल विकास केन्द्रको प्रवद्र्धन, सामुदायिक क्याम्पसलाई त्रिविको आंगिकका रुपमा रुपान्तरण गरिने कार्यक्रम छ।