नेपाली कांग्रेस कैलालीले कुण्टनीतिक पहलबाट सीमा विवाद समाधान गर्न माग गरेको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरामार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै कांग्रेसले यस्तो माग गरेको हो।
‘दुबै छिमेकी मुलुक चीन र भारतसँगका सीमा विवादहरु राजनीतिक र कूटनीतिक पहलबाट चाँडो समाधान गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
भारतले हालै नेपालको भूमि अतिक्रमण गर्दै निर्माण गरेको सडक खण्ड र त्यसभन्दा पूर्व एकलौटी ढंगले जारी गरेको नक्शामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएकोमा स्तब्ध भएको कांग्रेसले जनाक्एो छ।
‘सीमाना जस्तो संवेदनशील सवालमा भारत सरकारको एकतर्पिm रवैया र बल मिच्याइँको हामी घोर भर्त्सना एवं विरोध गर्दछौं,’ जिल्ला सभापति नरनारायण शाहद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ।
कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुबै पक्षको सहमति तथा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमले दुई देश बीचको सम्बन्धमा समेत असर पुग्न सक्ने ज्ञापन पत्रमा उल्लेख छ।
यस्तै क्वारेन्टिनमा बस्नेको असहज बसाई, गुणस्तरहिन खानपिन, फोहोर शौचालय र सरसफाईको अभावलाई व्यवस्थित बनाउन, कृषि राहत प्याकेजको घोषणा गर्न पनि कांग्रेसले माग गरेको छ।
लकडाउनले थुप्रै युवाहरुलाई बेरोजगार बनाएको भन्दै कांग्रेसले वैदेशिक रोजगारीबाट फर्किनेहरुको लागि स्वरोजगारका आकर्षक र दूरगामी महत्वका प्याकेज कार्यक्रम ल्याउन माग गरेको छ।