नेपाल पत्रकार महासंघले पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने गरी घटेको घटना मानवताविरुद्धको जघन्य अपराध भएको जनाएको छ।
जातीय विभेदलाई लिएर भएको उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न महासंघले माग गरेको छ। महासंघका महासचिव रमेश विष्टले बिहीबार विज्ञप्ति प्रकाशित गर्दै उक्त घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादती भएको जनाएका छन्।
‘मानव सभ्यतालाई नै कलंकित बनाउने यस किसिमका घटनाले मुलुकमा विद्यमान कानुनी शासनको समेत धज्जी उडाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाले समाज कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्नसमेत खडा गरेको छ।’
सिङ्गो समाजलाई नै स्तब्ध बनाउने यस किसिमका आपराधिक घटना दोहोरिन नदिन महासंघले सरकारको गम्भीर ध्यानार्कषण गराएको छ।
साथै महासंघले सोही घटनाका विषयमा भ्रामक समाचार सामग्री संप्रेषण नगर्न र पत्रकार आचार संहिताभित्र रहेर सत्यतथ्य समाचार सामग्रीमात्र संप्रेषण गर्न सञ्चारमाध्यम र युट्युव सञ्चालकहरुलाई समेत गराएको छ।