जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अहिलेको कोरोना संकटसँग जुध्न विशेष राहत प्याकेज सहयोग गर्न संघीय सरकारसँग माग गरेका छन् ।
मुख्यमन्त्री राउतले बुधबार राति प्रधानमन्त्री ओलीलाई पत्र लेखेर राहत प्याकेज उपलब्ध गराउन माग गरेका हुन् ।
मुख्यमन्त्री राउतले भारतबाट फर्किरहेका प्रदेशका नागरिकको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । ‘भारतमा समेत कोरोनाको प्रकोप बढ्दो अवस्थामा छ, त्यहाँ रहेका नागरिक फर्किने क्रममा संक्रमणको सम्भावना बढेको छ,’ राउतले पत्रमा भनेका छन्, ‘सीमा पारीबाट आफ्नो नागरिक ल्याउन पहल सुरु गरे पनि व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।’
कोरोना परीक्षण गर्न प्रदेशको तीन स्थानमा रियल टाइम पीसीआर मेसिनको व्यवस्था गरिए पनि भीटीएमलगायतका स्वास्थ्य सामग्रीको अभावमा परीक्षणको दायर बढ्न नसकेको राउतले भनेका छन् । प्रदेशभित्र परीक्षणको दायर बढाउन भीटीएम किटका साथै दक्ष जनशक्ति तथा उपकरणहरु उपलब्ध गराइदिन राउतले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
‘लकडाउन’ लम्बिँदै जाँदा प्रदेश सरकारले एक्लैले राहत उपलब्ध गराउन कठिन रहेको राउतले पत्रमा भनेका छन्, ‘लकडाउनको अवधि थपिँदै जाँदा प्रदेशको भौगोलिक अवस्था, जनसांख्यिक बनौट, मानव विकास सूचकांक र सामाजिक विकासको अवस्थाको आधारमा प्रदेश सरकारले मात्र खाद्यान्नसहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण छ । संघीय सरकारबाट ठोस कार्यक्रम ल्याउन अनुरोध छ ।’
यसैगरी प्रदेशका करिब १० लाख युवा जनशक्ति वैदेशिक रोजगारबाट फर्कन सक्ने सम्भावना रहेको उनको भन्दै राउतले उनीहरुका लागि रोजगार कार्यक्रम सञ्चालन गर्न आर्थिक प्याकेज सहयोग गर्न संघीय सरकारसँग माग गरेका छन् ।
प्रदेश युवा रोजगार कार्यक्रमका लागि र कृषिमा विशेष उत्पादन अभियान विशेष कार्यmत्र कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको भन्दै मुख्यमन्त्री राउतले प्रदेश २ का लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराउन प्रधानमन्त्री ओलीलाई अनुरोध गरेका छन् ।