काठमाडौं- कपिलवस्तुमा बालिका बलात्कार आरोपमा शिक्षकविरुद्ध किटानी जाहेरी परेको छ।
महाराजगन्ज नगरपालिका २, उनवलियाकी १५ वर्षीया बालिका बलात्कारको आरोपमा उनका परिवारले सोही नगरपालिका १, औराहास्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयका शिक्षक गोरखनाथ लोहार (२८)विरुद्ध प्रहरीसमक्ष किटानी जाहेरी दिएका हुन्।
वडा प्रहरी कार्यालय, चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बालिकाका परिवारले शिक्षक लोहारविरुद्ध किटानी जाहेरी दिएको जानकारी दिए।
लोहारले मंगलबार राति बालिकालाई घरबाट तानेर घरको पछाडि लगी बलात्कार गरेको बालिकाका परिवारले आरोप लगाएका छन्।
घर पछाडि अचेत अवस्थामा बालिकालाई परिवारले फेला पारेको थियो। लोहारलाई समात्न खोज्दा गाउँका केही व्यक्तिले उनलाई भगाएको बालिकाको परिवारको गुनासो छ।
बालिकाको बहादुरगन्ज अस्पतालमा स्वास्थ्य जाँचसमेत गरिएको छ। त्यसको रिपोर्ट आउन बाँकी छ।
घटनापछि फरार रहेका लोहारको खोजी भइरहेको प्रहरीले जनाएको छ।