खाडी देशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दुई लाख नाघेको छ।
समाचार संस्था सीएनएनका अनुसार त्यहाँ बिहीबार बिहान पौने १० बजेसम्म कोरोना संक्रमितको संख्या दुई लाख सात सय ८९ पुगेको छ।
खाडी मुलुकमा सबैभन्दा बढी संक्रमित साउदी अरबमा छन्। त्यहाँ संक्रमितको संख्या ७८ हजार पाँच सय ४१ छ। त्यसपछि संक्रमणका आधारमा कतार, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र ओमान क्रमशः दोस्रोबाट छैटौंमा छन्।
सीएनएनका अनुसार कतारमा ४८ हजार ९ सय ४७, युएईमा ३१ हजार ९ सय ६९, कुवेतमा २३ हजार दुई सय ६७, बहराइनमा ९ हजार ६ सय ९२ र ओमानमा आठ हजार तीन सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ३९ पुगेको छ। तीमध्ये साउदी अरबमा सबैभन्दा बढी चार सय २५ छन्। खाडी मुलुकमा कोरोनाबाट ज्यान गुमाउने सबैभन्दा कम बहराइनमा छन्। त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ मात्रै छ।
कोरोना संक्रमण फैलिरहँदा त्यहाँको सबैभन्दा ठूलो अर्थव्यवस्था रहेका साउदी अरब र युएईले जारी लकडाउन खुकुलो बनाउन सुरु गरेको बीबीसीले जनाएको छ।
विश्वभर कोरोना संक्रमितको संख्या ५६ लाख ९३ हजार ६६ छ भने यसबाट ज्यान गुमाउनेको संख्या तीन लाख ५५ हजार ६ सय ५३ रहेको सीएनएनले जनाएको छ।
एजेन्सी