काठमाडौं- मुलुक औपचारिक रुपमा गणतन्त्र प्रवेश गरेको आज १३ वर्ष लागेको छ ।
कोरोना महामारीका कारण दिवसका अवसरमा सरकारले कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ। यद्यपि साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन मनाउन गृह मन्त्रालयले सबैसँग अपिल गरेको छ।
मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो।
मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन अपिल गरेको छ।
२०७४ सालसम्म गणतन्त्र दिवसमा बिदा हुने गरेको थियो। तर २०७५ सालदेखि बिदा कटौती गरिएको छ। यसपटक पनि गणतन्त्र दिवसमा बिदा दिइएको छैन।
यसरी आएको थियो गणतन्त्र
२०६२ चैत २४ देखि २०६३ वैशाख ११ गतेसम्म भएको १९ दिने जनआन्दोलनको बलमा प्रतिनिधिसभा पुनःस्थापना भएको थियो । जनआन्दोलनको बलले संसद पुनःस्थापनापछि अन्तरिम संविधान निर्माणको बेला गणतन्त्र र संघीयताको विषय उठ्यो।
अन्तरिम संविधानमा संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयन गर्ने व्यवस्था गरियो। सोहीबमोजिम संविधानसभाको पहिलो बैठक (२०६५ जेठ १५) ले नेपाललाई गणतन्त्रात्मक मुलुक घोषणा गर्यो ।
तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गणतन्त्रको प्रस्ताव संविधानसभामा पेस गरेका थिए। त्यतिबेला कार्यान्वयनमा रहेको अन्तरिम संविधान, २०६३ को धारा १५९ (२) अनुरुप प्रस्ताव प्रस्तुत गरिएको थियो। सो धारामै ’संविधानसभाको पहिलो बैठकले लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्ने’ उल्लेख थियो।
’सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रही स्वतन्त्र, अभिभाज्य, सार्वभौम सत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी नेपाल आजैका मितिदेखि एक संघीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् परिणत भएको संविधानसभाको यो पहिलो बैठक घोषणा गर्दछ’, गणतन्त्रको प्रस्तावको ५ बुँदामध्ये पहिलो बुँदामा उल्लेख थियो।
सोही प्रस्ताव अनुसार राजाका परिवारलाई आम नेपाली नागरिकलाई भन्दा भिन्न रुपले प्राप्त सबै अधिकार, सुविधा र हैसियत अन्त्य गरिएको थियो। साथै, प्रत्येक जेठ १५ गते गणतन्त्र दिवसलाई हर्षोल्लासपूर्ण वातावरणमा मनाउन पहिलो बैठकले आह्वान पनि गरेको थियो।
प्रस्तावपछि भएको मत विभाजनमा संविधानसभामा मतदानका लागि उपलब्ध ५ सय ६४ मध्ये ५ सय ६० जनाले प्रस्तावको पक्षमा मत दिएका थिए भने ४ जनाले विपक्षमा मत दिएका थिए। संविधानसभामा उपस्थित २५ मध्ये २४ दलका सम्पूर्ण सभासदले गणतन्त्रको पक्षमा मत दिएका थिए। विपक्षमा मतदान गर्ने राप्रपा नेपालका ४ सभासद थिए।
राति ११ः२५ मा जेष्ठ सदस्यको नाताले संविधान सभाको पहिलो बैठकको अध्यक्षता गरेका कुलबहादुर गुरुङले सरकारको प्रस्तावमा भएको मतदानको परिणाम सुनाएका थिए। र, नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको घोषणा गरेका थिए।
दुःखेसो पोख्दै बिदा भए ज्ञानेन्द्र
गणतन्त्र घोषणा गरेको १४ दिनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेका थिए । उनले जेठ २९ गते साँझ साढे ५ बजे नारायणहिटी दरबारको ‘कास्की हल’मा आयोजित पत्रकार सम्मेलन गरेर बिदा लिएका थिए ।
उनले ’जनताको चाहना र इच्छालाई नै सर्वोपरी मान्ने राज परम्पराअनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेका निर्णयलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु’, ’मैले देश छाडेर जाने सोच पनि छैन। म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिको लागि योगदान पुर्याउन चाहन्छु’ भनेका थिए ।
तत्कालीन राजा ज्ञानेन्द्रले ०५८ जेठ १९ को दरबार हत्याकाण्डमा आफ्नो संलग्नता नरहेको पनि बताएका थिए ।
’घटनालाई लिएर केही र कतिले अत्यन्त निर्विवेक र निर्दयतापूर्वक म र मेरो परिवारमाथि लगाइएका कठोर आरोप र लाञ्छनालाई हामीले सहनुबाहेक न त कुनै उपाय नै थियो, न हाम्रोतर्फबाट बोलिदिने नै कोही थिए’, भन्दै दुःखेसो समेत पोखेका थिए ।