जनकपुरधाम- धनुषाको सहिदनगर नगरपालिका–९ घर भएका अन्दाजी ३२ वर्षीय वीरेन्द्र यादवले उपचार नपाएरै जटही नाकामा ज्यान गुमाएका छन्। भारतको गुजरात राज्यको सुरतमा होटलमा काम गर्दै आएका वीरेन्द्रको ‘लकडाउन’ पछि घर फर्किने क्रममा धनुषाको जटही नाकामा मृत्यु भएको हो।
नाकासम्म आइपुगेका नागरिक घर नपुगेर ज्यान गुमाउनुपरेको घटनाले संघीय र प्रदेश सरकारको कारोनाविरुद्धको तयारी निकै फितलो रहेको स्पष्ट भएको छ। सुरतबाट नाकासम्म आइपुगेका वीरेन्द्रले घर पुग्न केही किलोमिटर मात्र बाँकी थियाे।
तीन दिनअघि सुरतबाट हिँडेका वीरेन्द्र बुधबार बिहान साढे तीन बजे जटही नाका आइपुगेका थिए। बिहान १० र साँझ ६ बजेबाहेक नाका प्रवेश गर्ने अनुमति छैन। त्यसैले वीरेन्द्रका साथै भारतबाट आएका तीन सयभन्दा बढी मानिस नाकामै रोकिए।
अन्य मानिससँगै नाकामा रोकिएका वीरेन्द्रको स्वास्थ्य अचानक बिग्रिएको खबर त्यहाँ खटिएका सुरक्षाकर्मीमा पुग्यो। नाकामा खटिएका सशस्त्र प्रहरीले वीरेन्द्रलाई चाउचाउ र पानी खान दिए। केहीबेरपछि वीरेन्द्रलाई लगातार बान्ता भयो। उनले त्यहीं प्राण त्यागे।
उनलाई १३/१४ किलोमिटर उत्तरमा रहेको जनकपुरसम्म लगेर उपचार गराउने प्रयासै नगरिएको आफन्त बताउँछन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सुरुमा सामान्य देखिएकाले एम्बुलेन्स बोलाएर जनकपुरसम्म पुर्याउन ध्यान नपुगेको बताए।
‘उनी बिहान साढे तीन बजे नाकामा आइपुगेका रहेछन्, त्यतिबेला प्रवेश गराउने अनुमति छैन’, निरौलाले भने, ‘अचानक उनको स्वास्थ्य बिग्रियो, सशस्त्र प्रहरीका जवानले उनलाई चाउचाउ र पानी खान दिए। केहीबेरपछि उनको निधन भयो।’
वीरेन्द्र दरभंगासम्म रेलमा र त्यहाँबाट जटही नाकासम्म बसमा आएको आफन्त दीपेन्द्र यादवले बताए। दीपेन्द्र भन्छन्, ‘मंगलबार राति दरभंगाबाट फोन गरेर स्वास्थ्य ठीक नरहेको, तीन दिनदेखि खाना खान नपाएको, बोल्न पनि समस्या रहेको बताएका थिए।’
सहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले वीरेन्द्रको मृत्युको कारणबारे पोस्टमार्टमको रिपोर्टपछि मात्र भन्न सकिने बताए । बरबरिया भन्छन्,‘अचानक स्वास्थ्य बिग्रेर ज्यान गएको थाहा पाएको छु।’
सहिदनगर नगरपालिकाका वडाध्यक्ष रामदेव मरिक यादवले वीरेन्द्रसँगै रहेका उनका साथीले मंगलबार राति आफूलाई दरभंगाबाट फोन गरेर उनको स्वास्थ्य खराब रहेको बताएको सुनाए।
‘मंगलबार साँझ वीरेन्द्रसँगै रहेका एकजनाले फोन गरेर आफूहरु दरभंगामा फसेको, १०/१५ दिनदेखि लगातारको ज्वरोले वीरेन्द्रको स्वास्थ्य बिग्रेको बताएका थिए,’ वडाध्यक्ष यादव भन्छन्, ‘मैले एम्बुलेन्समा आउन भनेको थिएँ। तर आज उनको मृत्यु भएको सुनें।’
धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले वीरेन्द्रको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको बताए। कार्कीले वीरेन्द्रको स्वाब परीक्षणसमेत गरिने जानकारी दिए।