गत दुई महिना (चैत र वैशाख)मा मात्र नेपालमा एक खर्ब रुपैयाँबराबरको सामान आयात भएको छ। निर्यात भने ७ अर्ब १५ करोड रुपैयाँको मात्र भएको तथ्यांक छ ।
भन्सार विभागका अनुसार गत फागुनसम्ममा ९ खर्ब २४ अर्बको आयात भएकोमा वैशाख मसान्तसम्ममा आयात १० खर्ब २५ अर्ब पुगेको छ । निर्यात भने फागुन मसान्तसम्ममा ७४ अर्ब ९० करोडको भएकोमा वैशाख मसान्तसम्मा ८४ अर्ब ६ करोड पुगेको छ ।
गत चैत ११ गतेदेखि लकडाउनका कारण देश पूर्ण रुपमा ठप्प भए पनि आयातमा भने खासै कमी नआएको तथ्यांकले देखाएको छ । विशेषगरी खाद्यान्न, औषधीलगायत अत्यावश्यक सामग्रीको आयात भइरहेकोले आयातमा ठूलो गिरावट नआएको भन्सार विभागले जनाएको छ ।
त्यस्तैगरी चालू आर्थिक बर्षको १० महिनामा व्यापार घाटामा १४.२४ प्रतिशतले कमी आई ९ खर्ब ४३ अर्ब पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापारघाटा १० खर्ब ९९ अर्ब थियो ।
यस अवधिमा आयात १२.९९ प्रतिशतले कमी आएर एक १० खर्ब २ अर्ब ५१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा ११ खर्ब ७८ अर्ब रुपैयाँ आयात भएको थियो ।
त्यस्तै निर्यात भने यस अवधिमा ४.५० प्रतिशतले बढेर ८२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ७८ अर्ब ५३ करोडको रुपैयाँ निर्यात भएको थियो ।
यस अवधिमा कुल व्यापारमा पनि ११.८९ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको दश महिनामा कुल व्यापार ११ खर्ब ७ अर्ब रुपैयाँको मात्र भएको छ। गत बर्षको सोही अवधिमा कुल व्यापार १२ खर्ब ५६ अर्ब रुपैयाँको भएको थियो ।