आइतबार, भदौ ७, २०८३

दुई महिनामा ८३ अर्ब निक्षेप, १४५ अर्ब आन्तरिक ऋण

बैंक तथा वित्तीय संस्थाहरुले गत दुई महिनामा ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। चैतदेखि वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सो निक्षेप संकलन गरेका हुन्।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुले गत दुई महिनामा ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। चैतदेखि वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सो निक्षेप संकलन गरेका हुन्।

तर ऋण विस्तार भने २२ अर्ब रुपैयाँ मात्र भएको नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख छ।

चैत ११ गतेदेखि भएको लकडाउनका कारण ऋण प्रवाह वृद्धि हुन नसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ। वैशाखसम्म बैंक तथा वित्तीय संस्थामा ४९ अर्ब २ करोड रुपैयाँ अधिक तरलता छ। यो रकम कर्जायोग्य रकम हो।

त्यस्तै दुई महिनामा वाणिज्य बैंकहरुबीच १ खर्ब ५३ अर्ब २० करोड रुपैयाँ र वित्तीय संस्थाहरुबीच (वाणिज्य बैंकबाहेक) ८ अर्ब ३ करोड रुपैयाँ अन्तरबैंक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुबीचको अन्तरबैंक कारोबार दर गत चैतमा २.१३ प्रतिशत रहेकोमा वैशाख मसान्तसम्म ४.०६ प्रतिशत कायम भएको छ।
चालु आर्थिक वर्षमा नेपाल सरकारले १ खर्ब ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने योजना रहेकोमा २०७७ जेठ ९ गतेसम्म एक खर्ब ४५ अर्ब १४ करोड २० लाख रुपैयाँ मात्र आन्तरिक ऋण परिचालन गरेको छ।

राष्ट्र बैंकका अनुसार गत जेठ ९ गतेसम्म ४५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल, एक खर्ब बराबरको विकास ऋणपत्र, १३ करोड ५० लाख रुपैयाँ बराबरको नागरिक बचतपत्र र ५० लाख २० हजार बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरी ऋण परिचालन गरेको छ।

प्रकाशित: May 27, 2020| 13:32 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्