काठमाडौं- लकडाउनको समयमा अवैध तरिकाले व्यापार व्यवसाय सञ्चालन गरेर संक्रामक रोग कोरोनाको नियन्त्रणमा बाधा पुर्याएको भन्दै कञ्चनपुरका ४८ व्यापारी कारवाहीमा परेका छन्।
महामारीको मौका छोपेर कालोबजारी गरेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले ४८ व्यापारीलाई कैद र जरिवानाको सजाय सुनाएको हो।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार विषम परिस्थितिको मौका पारेर मूल्यमा ठग्न खोज्ने, उपभोग्य मिति सकिएको खाद्य पदार्थ बेच्ने, पसलमा ग्राहकबीच सामाजिक दूरी कायम नगराउने, सेनिटाइजर लगायतको प्रबन्ध नगर्ने व्यापारी कारवाहीमा परेका हुन्। कारवाहीमा पर्नेमा किराना, एग्रोभेट, मेडिकल पसल लगायतका सञ्चालक छन्।
ती व्यापारीलाई एक सय रुपैयाँ जरिवानादेखि २० दिनसम्मको कैद सजाय तोकिएको प्रशासनले जनाएको छ।
सामान्य लापरवाही गर्ने १३ वटा फर्मले सय रुपैयाँ जरिवाना तिरेका छन्। अति गम्भीर लापरवाही गरेको ठहर गर्दै १८ वटा फर्मका सञ्चालकलाई २० दिन कैद गरिएको खतिवडाले जानकारी दिए। यस्तै, १७ वटाले गम्भीर त्रुटि गरेकाले सञ्चालकलाई १५ दिनको कैद तोकिएको छ।
लकडाउनको बेला ठगिएको भन्दै जनस्तरबाट गुनासो आएपछि कार्यालयले वैशाख २९ देखि जेठ ५ गतेसम्म बजार अनुगमन गरेको प्रशासनले जनाएको छ।
‘संक्रामक रोग ऐन–२०२०’को अधिकारअन्तर्गत कारवाही गरेको जनाएको प्रशासनले जनाएको छ।