सुर्खेत- भारतबाट गाउँ फर्किएका एक युवकको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ।
भारतको गुजरातबाट फर्किएका सुर्खेतको चिंगाड गाउँपालिका–५ अवलचिङका २२ वर्षीय युवकको सुर्खेतस्थित प्रादेशिक अस्पताल लैजाने क्रममा मंगलबार राति साढे १२ः१५ बजेतिर मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आज बिहान जारी गरेको विज्ञप्तिमा ती पुरुष बाथले ग्रसित रहेको उल्लेख छ ती पुरुषको मृत्युपछि कोरोना भाइरस (कोभिड १९)को परीक्षण गरिएको र नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।
‘गाडीमा असजिलो भएपछि अस्पताल ल्याइएको रहेछ, हामीले चेकजाँच गर्दा युवकको मृत्यु भइसकेको थियो,’ प्रादेशिक अस्पताल, सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलले भने, ‘भारतबाट आएका कारण कोरोनाको आशंका लागेर स्वाब संकलन गरिएको छ, साँझसम्म रिपोर्ट आइपुग्छ।’
यता, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पनि युवक घर फर्कदै गाडीमै सिकिस्त भएपछि कोरोनाको आशंका गरिएको बताए।
उनले भने, ‘युवकको शव अस्पतालमै राखिएको छ, कोरोना परीक्षणको रिपोर्ट नआउँदासम्म दाहासंस्कार हुँदैन।’