सुर्खेत- जाजरकोटमा बालुवाको ढिस्कोमा पुरिएर मंगलबार साँझ दुई जनाको मृत्यु भएको छ।
नलगाड नगरपालिका–९ तात्रामा बालुवा निकाल्ने काम गर्दै आएका ४१ वर्षीय एक्कबहादुर सिंह र उनकी पत्नी ३३ वर्षीया कुमारी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार कुमारीको घटनास्थलमै मृत्यु भएको हो भने एक्बहादुरको उपचारका लागि जिल्ला सदरमुकाम खलंगा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
घटनामा मृतककी ११ वर्षीया छोरी तारा सिंहसहित अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेमा ३६ वर्षीया कमला सिंह, ३३ वर्षीया लक्ष्मी सिंह र ३७ वर्षीया कमला सिंह रहेको प्रहरीले जनाएको छ।
घाइत सबैको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार भइरहेको छ।
उनीहरु स्वास्थ्यचौकी भवन निर्माणका लागि बालुवा निकाल्ने काम गर्दै आएका थिए।