काठमाडौंं– अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले कारोना संकटबाट शिथिल नेपालको नीजि क्षेत्रलाई गतिशील बनाउन आवश्यक भूमिका खेल्ने जनाएको छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजना गरिएको वेबिनारमा बोल्दै आइएफसीका नेपाल, बाङ्लादेश र भुटानका लागि कन्ट्र्री म्यानेजर वेण्डी वर्नरले कोरोना संकट सुरु भएदेखि नै नेपालका पर्यटन लगायतका सेवा क्षेत्र धराशायी भएको र यसको असर अझै लामो समय रहने बताइन्।
कोभिड– १९ ले ल्याएको संकटका कारण थलिएका साना तथा मध्यम व्यवसायले रोजगारी सिर्जनमा उल्लेख्य भूमिका खेल्ने भन्दै उनले यस्ता व्यवसायलाई आईएफसीले सहयोग उपलब्ध गराउने जानकारी दिइन्।
यो वर्षको अन्तिमसम्म नेपालमा आईएफसीको लगानी ०.५ अर्ब अमेरिकी डलरको पुग्ने वर्नरको भनाई छ। सन् २०२३ सम्ममा आइएफसीले नेपालका निजी क्षेत्रमा १.२ अर्ब डलर लगानीको लक्ष्य राखेको छ।
कार्यक्रममा बोल्दै वर्नरले आईएफसीले नेपालमा निजी क्षेत्रको इक्विटी लगानीकर्ताका रुपमा मात्र नभई बृहत्तर सहयोगीको भूमिका खेल्ने प्रतिवद्धता जाहेर गरिन्।
आइएफसीले विश्वव्यापी रुपमा कोभिड– १९ बाट हुने आर्थिक क्षतिसँग जुध्न कुल ४८ मिलियन अमेरिकी डलरको प्याकेज अघि सारेको छ ।
विश्व बैंक समूहको सदस्य आईएफसीले नेपालमा निजी क्षेत्रबाट सञ्चालित बैंक र लघुवित्त कम्पनीहरुलाई सहयोग गर्दै आएकोे छ ।