काठमाडौं- कोरोना भाइरसको महामारीका कारण अधिकांश देश लकडाउनमा गएका थिए।
तर लामो समयको लकडाउनले अर्थतन्त्र ध्वस्त हुने अवस्था आएपछि विभिन्न देशले लकडाउन खुकुलो पारिरहेका छन्। भारतले रेल सेवा तथा आन्तरिक हवाई सेवा सुरु गरेको छ।
थुप्रै युरोपेली देश तथा अमेरिकी देशहरुले पनि लकडाउन खुकुलो पारेका छन्।
लकडाउन खुकुलो पार्दा तेलको खपत सुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको हो।
लकडाउन सुरु भएको केही दिनमै अमेरिकामा कच्चा तेलको मूल्य ऋणात्मक भएको थियो।
पछिल्लो समय ठूला तेल उत्पादक देशहरु तेलको उत्पादनमा कटौति जारी राख्ने र संसारका अधिकांश ठूलो अर्थव्यवस्था भएका देशले विस्तारै लकडाउन खुकुलो पार्दै जाँदा कच्चा तेलले उचित मूल्य पाउन सक्ने आशा राखेका छन्।
आगामी दिनमा विमान र गाडीमा हुने तेलको खपतका लागि कतिपय देशहरुले भण्डारणसमेत सुरु गरिसकेका छन्।
जसका कारण अन्तर्राष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको मूल्य बढेको छ।
वेस्ट टेक्सास इन्टरमिडियट डब्लुटिआई जसलाई अमेरिकी तेलको मूल्यको मापक मानिन्छ त्यहाँ तेलको मूल्य आज ३४.३१ डलर प्रति ब्यारेल भएको छ।
सोमबार अमेरिकामा ‘मेमोरियल डे’ को बिदाको कारण डब्लुटिआईले तेलको मूल्य सार्वजनिक गरेको थिएन।
त्यस्तै अन्तर्राष्ट्रिय बेन्चमार्क बे्रेटमा मंगलबार कच्चा तेलको मूल्य १.७ प्रतिशतले बढेको छ। उसले पछिल्लो पटक ३६.१२ डलर प्रति ब्यारेल मूल्य तोकेको छ।