आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पूर्वराजाको तस्बिर अंकित नोटमा प्रतिबन्ध, सर्वसाधारणसँग भएका साटिने

पूर्वराजाको तस्बिर अंकित नोटमा प्रतिबन्ध, सर्वसाधारणसँग भएका साटिने

सर्वसाधारणसँग भएका नोट भने बैंक तथा वित्तीय संस्थाले सटही गर्नेछन्।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

काठमाडौं- पूर्वराजाको तस्बिर अंकित नोटमा प्रतिबन्ध लगाइएको छ। नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरी पूर्वराजाको तस्बिर अंकित नोट चलनचल्तीका लागि बजारमा नपठाउन निर्देशन दिएको हो। सर्वसाधारणसँग भएका नोट भने बैंक तथा वित्तीय संस्थाले सटही गर्नेछन्।

क्लिन नोट नीतिअन्तर्गत निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।  नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार कुनै पनि नोटको निश्चित अवधि हुने र उक्त अवधिपछि नोटको समय सकिने भएकाले राष्ट्र बैंकले पुराना झुत्रा नोटलाई चलनचल्तीमा नल्याउने व्यवस्था गरेको हो।

भट्टले भने, ‘राष्ट्र बैंकले परिपत्र जारी गरेपछि बैंकहरुले भने राजाको तस्बिर अंकित नोट बजारमा पठाउँदैनन्, ती अब झुत्रा भइसके।’

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई झुत्रिएको, मक्किएको, जलेको गलेको चित्र तथा सुरक्षण विशेष नबुझिने वा रंग बिग्रेको, च्यातिएको, छपाइ बिग्रेको नोटहरु बजारमा नपठाउन निर्देशन दिएको छ।

बैंक तथा वित्तीय संस्थाले यस्ता नोटलाई आफ्नो नोट कोषमा र केन्द्रीय बैंकको पहुँचमा नभएका वित्तीय संस्थाले अन्य बैंकको नोट कोषमा संकलन गरी राष्ट्र बैंकमा पठाउनुपर्नेछ।

परिपत्रअनुसार अबदेखि बैंक तथा वित्तीय संस्थाले भुक्तानी गरी दिने नोटलाई तीन भागमा विभाजन गर्नुपर्नेछ। बैंकहरुले एटीएमबाट पठाउने रकमलाई हरियो, काउन्टरबाट पठाउनेलाई सेतो र अयोग्यलाई रातो रंगको क्लिप प्रयोग गर्नुपर्नेछ।

यसरी भुक्तानी गर्न योग्य नोटलाई निश्चित प्रकृया अपनाई जीवाणु तथा भाइरसरहित गनुपर्ने व्यवस्था पनि गरिएको छ। साथै नोट राख्ने दराज सफा राख्न, प्रकाश र हावा छिर्ने ठाउँ बनाउन राष्ट्र बैंकको निर्देशन छ।

राष्ट्र बैंकले नोटमा स्टिचको प्रयोग नगरी रबर वा प्लास्टिकको बैन्ड प्रयोग गर्न र नोटमा केरमेट नगर्न पनि सर्वसाधरणलाई आग्रह गरेको छ।

 

प्रकाशित: May 24, 2020| 19:55 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्