काठमाडौ– नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याज छुट लकडाउनमा सञ्चालन भएका व्यवसायले नपाउने स्पष्ट पारेको छ।
लकडाउनले व्यापार/व्यवसायमा समस्या परेका कारण राष्ट्र बैंकले गत १६ बैशाखमा २ प्रतिशत विन्दुले ब्याज छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो।
ब्याज छुटको निर्देशन सबै व्यापार व्यवसायलाई नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।
उनले भने, “राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई व्यवसाय तोकेर कर्जामा ब्याज छुट दिन भनेका छौं।”
भट्टका अनुसार लकडाउनमा पनि नियमित सेवा दिइरहेका खाद्यान्न, ग्यास, सोप एन्ड केमिकल्स, औषधि, इन्टरनेट तथा दूरसञ्चार, टेलिभिजन सेवा प्रदायकलगायतले ब्याज छुट पाउने छैनन्।
त्यसैगरी सुर्ती तथा मदिराजन्य उद्योग, सञ्चालनमा रहेको जलविद्युत् आयोजनालगायतले छुटको सुविधा उपभोग गर्न पाउँदैनन्।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले व्यवसाय हेरेर छुट दिइरहेको जानकारी गराए।