काठमाडौं - नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आइतबार जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दै छ।
बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित जापानी दूतावासले बाइडबडी जहाज चार्टर्ड गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राति ९ बजे निगमको वाइडबडी जहाज नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान गर्ने तालिका रहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए। बन्दाबन्दीमा निगमको नारिताका लागि यो चौथोपटकको चार्टर्ड उडान हो।
यसअघि जेठ ९ गते निगमको वाइडबडी जहाजले १९७ नेपालीसहित जम्मा २६८ यात्रु लिएर वाइडबडी जहाज नारिता गएको थियो। सोही गन्तव्यमा यसअघि जेठ २ गते निगमको वाइडबडी जहाजले दोस्रोपटक चार्टर्ड उडान गरेको थियो। गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान भएको थियो।
नेपालमा रोकिएका केही जापानी तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर्ड उडान गरेको हो। निगम प्रवक्ता अर्चना खड्काका अनुसार जापानको नारिताको चौथोपटकको चार्टर्ड उडानका लागि २६० भन्दा बढी यात्रुको बुकिङ छ।