आइतबार, पुस ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • अन्त:शुल्कको नक्कली स्टिकर प्रकरण : राजस्वको अनुसन्धान उद्योगतर्फ केन्द्रित

Siddartha premir insuranceSiddartha premir insurance

अन्त:शुल्कको नक्कली स्टिकर प्रकरण : राजस्वको अनुसन्धान उद्योगतर्फ केन्द्रित

रुपन्देहीमा मदिरामा लाग्‍ने अन्तशुल्कको नक्कली स्टिकर बरामद भएपछि उद्योगी र कर्मचारी संयन्त्रमा खेलाबैला मच्चिएको छ।
 |  आइतबार, भदौ २७, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

आइतबार, भदौ २७, २०७८

ntc landingntc landing

बुटवल- रुपन्देहीमा मदिरामा लाग्‍ने अन्तशुल्कको नक्कली स्टिकर बरामद भएपछि उद्योगी र कर्मचारी संयन्त्रमा खेलाबैला मच्चिएको छ। गत भदौ ५ गते २ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबर मूल्यको मदिरामा प्रयोग हुने नक्कली स्टिकर शसस्त्र प्रहरीले बरामद गरेको थियो। 

himalayan bank box

करिब एक महिना हुँदासम्म पनि राजस्व अनुसन्धान कार्यालय बुटवलले अनुसन्धानमा चासो नदिएको भन्दै राजस्व अनुसन्धान विभाग केन्द्रीय कार्यालयमा गुनासो पुगेपछि बल्ल अनुसन्धान थालिएको हो।

एकसातायता राजस्व अनुसन्धान कार्यालय बुटवलले नक्कली स्टिकरबारे रुपन्देहीका विभिन्‍न मदिरा उद्योगहरुमा छापा मारेको छ। रुपन्देहीको तिलोत्तमा १७ मधवलीयास्थित क्रिष्टलर्स डिष्टिलरी र तिलोत्तमा नगरपालिका १४ मा रहेको माउण्ट एभरेष्ट डिष्टिलरी प्रालीमा राजस्व कार्यालयले छापा मारेर कागजपत्र जफत गरेको छ।

‘केहि उद्योगमा छापा मारिएको छ,’ राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजन बिसिले भने, ‘सञ्‍चो नभएर म सुतिरहेको छु, विस्तृत जानकारी मलाई पनि छैन।’ उनले छापा मारेको स्वीकार गरे पनि विस्तृत विवरण भने बताउन चाहेनन्। राजस्वको अनुसन्धान टोलीले शुक्रबार क्रिष्टिल डिष्टिलरी र आइतबार माउण्ट एभरेष्ट डिष्टिलरी प्रालीमा छापा मारेको हो।

राजश्व अनुसन्धान कार्यालयलाई नक्कली स्टिकरको छानबिन र अनुसन्धानका लागि पाँच दिनअघि आन्तरिक राजस्व कार्यालय भैरहवाले नवलपरासीको दिक्षा स्टोरबाट क्रिस्टल डिष्टिलरीको उत्पादन ‘स्टारसोफी’ ब्राण्डका ५० कार्टुन मदिरा बरामद गरेको थियो। कार्यालयले बरामद गरेको मदिराको नमुना विभागमा थप अनुसन्धानका लागि समेत पठाएको छ। क्रिष्टिल डिष्टिलरीका सञ्‍चालक फूलसिंह क्षेत्री र माउण्ट एभरेष्ट डिष्टिलरीका सञ्‍चालक प्रविन्द्र गोविन्द श्रेष्ठलाई अनुसन्धानका लागि निगरानीमा राखेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।

vianet

 ठूलो परिमाणमा नक्कली स्टिकर फेला पर्नु र अनुसन्धानकै क्रममा क्रिस्टल डिष्टिलरीबाट उत्पादित मदिराका ब्राण्ड आन्तरिक राजस्व कार्यालयले नियन्त्रणमा लिएर उद्योगमा छापा मारेको हो। यसले मदिरा उद्योगले नक्कली स्टिकरको प्रयोग गर्ने गरेको पुष्टि गरेको अनुसन्धानमा खटिएका एक कर्मचारीले बताए। उनका अनुसार अनुसन्धान रोक्न शीर्ष तहबाटै दबाब आइरहेको छ। 

मदिरा उद्योगमा आन्तरिक राजस्व कार्यालयको एक जना कर्मचारी नै खटाएर उसकै निर्देशनमा अन्तशुल्कका स्टिकर बोतलमा टाँसिन्छन्। त्यसपछि सोही कर्मचारीकै रोहबरमा निकासितको लागि राजस्व तिर्ने र सोही कर्मचारीको रोहबरमा उत्पादित मदिरा बजारमा पठाउने कानुनी व्यवस्था छ।

आन्तरिक राजस्व कार्यालयका कर्मचारीको मिलोमतो बिना उद्योगले नक्कली स्टिकर र नक्कली मदिरा बनाउन नसक्ने स्वयं कर्मचारीहरु स्वीकार्छन्।

नक्कली स्टिकर घटनामा आन्तरिक राजस्व कार्यालयका कर्मचारी, मदिरा उद्योगी र भन्सार कार्यालयका कर्मचारीको मिलेमतो हुनसक्ने भन्दै राजस्वले त्यतातर्फ पनि अनुसन्धानलाई केन्द्रित गरेको जनाएको छ।

मदिरामा प्रयोग हुने नक्कली स्टिकर लिचीको नाममा भन्सारबाट नेपाल भित्र्याउने गरिएको अनुसन्धानमा देखिएको छ। मदिराको नक्कली स्टिकर छाप्‍नु भनेको रुपैयाँ छाप्‍नुजस्तै हुने भएकाले ठूलो शक्तिको संलग्‍नता हुनसक्ने बताइएको छ।

 ‘अहिले हामी उद्योगका स्टिकर र कागजपत्र सम्पूर्ण जफत गरेर अनुसन्धानमा छौं,’ आन्तरिक राजस्व अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकारी धनेश्वर अर्यालले भने, ‘विस्तृत विवरणपछि सार्वजनिक हुन्छ ।’

भदौ ५ गते सशस्त्र प्रहरी बल बेलहिया-डण्डाले मदिराका बोतलमा प्रयोग हुने नक्कली अन्तशुल्क स्टिकर बरामद गरेको थियो। लु.२ च. २५० नम्बरको गाडीमा भारततर्फबाट ल्याएर भैरहवाको दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा उक्त नक्कली स्टिकरसहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अली पक्राउ परेका थिए। उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

 शसस्त्र प्रहरी बल डण्डा बोर्डर आउट पोष्टबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण प्रसाद अर्यालको कमाण्डमा खटिएको टोलीले भैरहवाको दरखसवाबाट ८० रोल (प्रतिरोल ३ हजारका दरले जम्मा दुई लाख ४० हजार) बरामद गरेको थियो। 

प्रकाशित: Sep 12, 2021| 21:07 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्