शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक वृद्धिको लक्ष्य प्रचार गर्न होइन, काम गरेर देखाउन हो : अर्थमन्त्री

आर्थिक वृद्धिको लक्ष्य प्रचार गर्न होइन, काम गरेर देखाउन हो : अर्थमन्त्री

संसद्‍मा ओली सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्ने विधेयक पेस गरेपछि आइतबार अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्रचारका लागि मात्र नभएर काम गरेर देखाउन भएको बताएका छन्। संसद्‍मा ओली सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्ने विधेयक पेस गरेपछि आइतबार अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन्। 

आर्थिक वृद्धि ७ प्रतिशतमा पुर्‍याउनका लागि विकासका गतिविधिलाई तीव्र बनाउने, करको दायरालाई विस्तार गर्ने, कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्नका लागि छुट दिने उनको भनाइ छ। उनले बजार अनुगमन, परीक्षण, अनुसन्धान गर्ने प्रणालीमा सुधार गर्ने, भुक्तानी प्रणाली सरल बनाउने, न्यून बिजकीकरणका समस्या समाधान गर्ने, उत्पादनमूलक क्षेत्रका उद्योगलाई कच्चा पदार्थको आयातमा छुट दिनेलगायतका कामले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न असम्भव नरहेको मन्त्री शर्माको दाबी छ। 

सेयर बजारबारे अध्ययन भइरहेको र सरकार ४२ लाख लगानीकर्ताको लगानी सुरक्षितको विषयमा ध्यान दिइरहेको उनको भनाइ छ। उनले कोरोना बीमाको ११ अर्ब रुपैयाँ दायित्व रहेको बताउँदै उक्त दायित्व परिपूर्तिको लागि स्रोत खोजिरहेको समेत बताएका थिए। 

‘कोरोना बीमाको दायित्व ११ अर्ब रुपैयाँ छ। यो अझै बढ्न सक्छ। उक्त रकम भुक्तानीको लागि अर्थ मन्त्रालयले स्रोत खोजिरहेको र टुंगो नलागेकोले तत्काल कसरी भुक्तानी गर्ने विषयको बारेका टिप्पणी गर्दिनँ,’ उनले भने। 

सहकारीमा धेरै पैसा रहे पनि लगानी गर्न नपाएको भन्दै सहकारीलाई पनि लगानीका लागि ढोका खोलिदिनुपर्ने र ऐन तथा नियम बनाएर अगाडि बढ्नुपर्ने भएकाले त्यसबारे काम भइरहेको उनको भनाइ थियो। 

अर्थमन्त्री शर्माले सरकारले विद्युतीय सवारी साधनलाई नै बढी प्राथमिकता दिइएको र सिंहदरबारभित्र पनि विद्युतीय सवारी साधनकै प्रयोग बढाउने तर्फ सरकार लागिरहेको बताए। 

उनले प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्दै लैजाने भन्दै खर्चको प्रकृतिको अनुगमन र नियमन गर्नका लागि संयन्त्र बनाउने तयारी अर्थमन्त्रालयले गरिरहेको दावी गरे। 

अध्यादेश बजेट प्रतिस्थापन विधेयकमा सामाजिक सुरक्षा कोषलाई आफै कमाउन सक्ने गरी कार्यक्रम अघि सारिएको, पहिलोपटक गरिबी लक्षित कार्यक्रम ल्याइएको उनको भनाइ छ। 

कृषि बाली बिमालाई ८० प्रतिशत पुर्‍याउनुका साथै २०० मेघावाटभन्दा माथिका जलविद्युत आयोजनामा लगानी भित्राउनका लागि आवश्यक प्रविधि भित्र्याउन १५ वर्षसम्म शतप्रतिशत कर छुट दिने र त्यसपछि ६ वर्षसम्म ५० प्रतिशत कर छुट दिने व्यवस्था गरेको उनको भनाइ थियो। उपत्यकाका १२ स्थानमा पार्क बनाउनका लागि अध्ययन गरिराखिएको पनि जानकारी दिए। 

अर्थमन्त्री शर्माले बर्हिगमित लडाकुलाई रोजगारीमा जोड्ने, वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्समध्ये ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने गरी कार्यक्रमहरु ल्याइएको बताए। 

प्रकाशित: Sep 12, 2021| 20:58 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्