काठमाडौं- शनिबार राति बेलायतको म्यानचेस्टर सहरमा बैग्लै रौनक छाएको थियो। सहरका ठूला दुई फुटबल क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीका विश्वभर आआफ्नै फ्यान छन्। शनिबार भने म्यानचेस्टर युनाइडेटका समर्थक ‘जश्न’ मनाइरहेका थिए। त्यो कुनै उपाधि जितेको ‘जश्न’ थिएन। कारण थियो- क्रिस्टियानो रोनाल्डोको पुनरागमन।
जब ओल्ड ट्राफोर्डमा रोनाल्डोले क्लबका तर्फबाट दोस्रो पटक डेब्यू गर्दै थिए, समर्थक उत्साही हुने नै भए। ड्रेसिङ रुमबाट रोनाल्डो मैदान प्रवेश गर्दा पुरै रंगशालाले ‘स्ट्यान्डिङ अभिएसन’ दिएको थियो। हुटिङ र तालीले गुञ्जायमान रंगशालामा मुस्कुराउँदै उभिएर ताली बजाइरहेका थिए– सर एलेक्स फुर्गुसन।
माहोल हेर्दा लाथ्यो– युनाइटेडले ठूलै उपाधि जितेर विजय उत्सव मनाइरहेको छ। र त्यो उपाधि फर्गुसनको नेतृत्वमा प्राप्त भएको छ। तर, ७९ वर्षीय स्कटिस प्रशिक्षक फर्गुसनले युनाइटेड छोडेको आठ बर्ष भइसकेको छ।
तर, रोनाल्डो मैदान प्रवेश गर्दा फर्गुसनको अनुहारमा बेग्लै चमक थियो। नहोस् पनि कसरी! आखिर रोनाल्डोलाई उत्कृष्ट बनाउन धार लगाउने प्रशिक्षक उनै थिए। युनाइटेडका लिजेन्ड खेलाडी र क्लबका मालिक समेत रोनाल्डोको दोस्रो डेब्यू हेर्न ओल्ड ट्राफोर्ड पुगेका थिए।
क्लबका मालिक अभराम ग्लेजर दुई वर्षयता कुनै पनि खेल हेर्न ओल्ड ट्राफोर्ड पुगेका थिएनन्। तर, रोनाल्डोको दोस्रो डेब्यू हेर्न रंगशालामा उपस्थित थिए। यसले रोनाल्डोका लागि युनाइटेड र युनाइटेडका लागि रोनाल्डो कति प्रिय छन् भन्ने पुष्टि गरेको छ।
रंगशालामा पुगेर रोनाल्डोको डेब्यू हेर्नेहरू झुम्ने त भए नै। सँगै मैदान बाहिरबाट खेल हेर्ने समर्थकमा पनि उति नै खुसी छाएको थियो। त्यसैले त म्यानचेस्टर युनाइटेड र न्यु क्यासल युनाइटेड फुटबल क्लबबीचको खेल ८६ लाख दर्शकले टेलिभिजनमार्फत् हरेका छन्। जुन इंग्ल्यान्डमा टेलिभिजनमार्फत् प्रिमियर लिगमा सबैभन्दा धेरै जनाले एकैपटक हेरिएको खेल बन्न पुगेको थियो।
रोचक त के छ भने फर्गुसन प्रशिक्षक रहँदा रोनाल्डो र अहिलेका प्रशिक्षक ओले गनर सोल्याएरसँगै खेल्थे। सन् २००६ मा रिडिङविरुद्ध रोनाल्डोको पासमा सोल्सायरले गोल गरेका थिए। अहिले उनै सोल्सायरको नेतृत्वमा रोनाल्डोले युनाइटेमा आफ्नो दोस्रो इनिङ्सको पहिलो खेल खेलिसकेका छन्। त्यो पनि २ गोल गरेर।
०००
एक समय थियो इंग्ल्यान्डमा एक नामी फुटबल प्रशिक्षकको राज चल्थ्यो। मैदानभित्र होस् वा बाहिर चर्चामा हुन्थे स्कटिस प्रशिक्षक फर्गुसन। उनी इंग्ल्यान्डकै 'महान्' क्लब म्यानचेस्टर युनाइटेडलाई सम्हालिरहेका थिए।
अझ भन्ने हो भने म्यानचेस्टर युनाइटेडलाई 'महान्' बनाउने उनै फर्गुसन थिए। यद्यपि युनाइटेडको आफ्नै इतिहास थियो र विरासत पनि। सन् १९८६ को सिजन थियो, युनाइटेडले फर्गुसनलाई व्यवस्थापक बनाउने निधो गरेको थियो।
फर्गुसनले आफ्नो जीवनका २७ वर्ष युनाइटेडमा बिताए। उनको कार्यकालमा युनाइटेडले १३ पटक प्रिमियर लिग जित्यो। त्योबाहेक उनले पाँच एफएकप, चार लिग कप, १० कम्युनिटी कप, तीन च्याम्पियन्स लिग जितेका छन्।
युनाइटेड आउनुअघि फर्गुसनले स्कटल्यान्डको लिग, कप विनर्स कप र युरोपियन सुपर कप जितेर आफ्नो उचाई बनाइसकेका थिए। तर प्रिमियर लिगका उनको अनुभव थिएन। तर, युनाइटेडले फर्गुसनलाई भित्र्याउने जोखिम लिएको थियो।
उसो त, सन् १९६९ मा फर्गुसन खेलाडीकै रुपमा इंग्लिस क्लब नटिङ्घम फरेस्टमा अनुबन्ध हुन चाहन्थे। तर, खेलाडीका रुपमा उनी इंग्ल्यान्ड गएनन्। त्यसपछि उनलाई इंग्ल्यान्ड पुग्न निकै लामो समय लाग्यो। खेलाडीका रूपमा इंग्ल्यान्ड जान नपाएपनि प्रशिक्षकका रुपमा इंग्ल्यान्ड पुगे। युनाइटेड पुगेको ६ सिजन उनले क्लबलाई लिग उपाधि जिताउन सकेनन्। एफए कप, फुटबल लिग कप र कम्युनिटी शिल्ड जितका उनले घरेलु लिग जित्न भने ६ सिजन पर्खन परेको थियो।
तर, समय एकनास कहाँ हुन्छ र? क्लबमा बिताएको ६ सिजनपछि फर्गुसनले जे गरे, त्यो सायदै कुनै प्रशिक्षकले गरेका छन् र गर्न सक्छन्। उनले उपाधिको बाढी नै ल्याइदिए, जुन निरन्तर चलिरह्यो। त्यसैको परिणाम त हो उनी ११ सिजन प्रिमियर लिगका उत्कृष्ट प्रशिक्षक घोषित भएको पनि।
सन् १९९६ ताका क्लबमा नयाँ खेलाडी भित्र्याउन चाहान्थे–फर्गुसन। त्यो बेला उनको नजर मोल्डेमा खेलिरहेका एक खेलाडीमा थियो। ती थिए ओले गनर सोल्सायर (जो अहिले म्यानचेस्टर युनाइटेडका प्रशिक्षक छन्)। सोल्सायरले कप विनर्स कपमा राम्रो प्रदर्शन गरे पनि धेरैका आँखा तान्न सकेका थिएनन्। उनले पीएसजी र डिनामोविरुद्धसमेत गोल गरेका थिए।
इंग्लिस क्लबका आँखामा पर्न सुरु हुने संकेत देखेर मोल्डेले सोल्सायरको मूल्य १.२ मिलियन पाउन्ड तोक्यो। सुरुमा मोल्डेका व्यववस्थापक ओगे हराइडेले एभर्टन र आफ्नै पूर्वक्लब म्यानचेस्टर सिटीमा बेच्ने योजना बनाए। तर, उनको योजना सफल भने हुन सकेन। र, फर्गुसनले सोल्सायरका लागि १.५ मिलियन पाउन्ड तिर्ने निधो गरे। सोल्सायरले क्यालिग्री र हमबर्गबाट आएको प्रस्ताव अस्विकार गरी युनाइटेडमा १९९६ जुलाई २९ मा अनुबन्ध भए। चक्लेटी मुहारका उनी आक्रामक फिनिसरका रुपमा परिचित थिए। त्यसैले उनलाई देखेपछि उनलाई इंग्लिस मिडियाले ‘बच्चाको अनुहार गरेको हत्यारा’को उपनाम नै दिएका थिए।
उनले सरुवाती वर्ष युनाइटेडमा अत्यन्तै सहज रुपमा बिताए। तर उनले चोटका कारण जसरी फुटबल छोड्नु पर्यो, त्यसरी सायदै अरुले छोड्नु परेको होस्। सोल्सायर खेलाडी जीवनको उत्तरार्द्धमा थिए, त्यही बेला युनाइटेडले भित्र्यायो क्रिस्टियानो रोनाल्डो।
२१औं शताब्दीको सुरुवातमा पोर्चुगलको स्पोर्टिङ सीपीका फरवार्डले त्यहाँ धुम मच्चाइरहेको थियो। नयाँ खेलाडीको जोखिम मोल्न बानी परेका फर्गुसनका आँखा तिनै खेलाडीमा गडेका थिए। युनाइटेडले १२ मिलियन पाउन्ड तिरेर भित्र्यायो। ती खेलाडी थिए–रोनाल्डो। उनी त्यतिबेलासम्मका सबैभन्दा ठूलो मूल्य लगाइएका किशोर खेलाडी थिए।
युनाइटेडमा उनले २८ नम्बरको जर्सी मागे। तर, पाएनन्। पाए त जर्सी नम्बर-७। युनाइटेडबाट त्यो जर्सी जर्ज बेस्ट, इरिक क्यान्टोना र डेभिड ब्याकहमले लगाइसकेका थिए। ७ नम्बरको गर्बिलो इतिहासले उनलाई ऊर्जा थपेको थियो।
इंग्ल्यान्ड आएपछि उनको प्रतिभालाई फर्गुसनले धार लगाए। तिखारे। र, ग्लोबल स्टारका रूपमा विकास गरे। उनले २८ नम्बर नपाएर के भो त? उनले पाएको त्यही जर्सी नम्बर–७ अहिले विश्वविख्यात छ। उनको परिचय यही जर्सीमा जोडिएको छ- सिआर सेभेनका रूपमा।
फर्गुसनबारे रोनाल्डो अहिले कृतज्ञ छन्। र युनाइटेडमा आफ्नो पुनरागमन फर्गुसनमै समर्फित रहेको उनले बताएका छन्। उनले फर्गुसनका बारेमा भनेका छन्, ‘उनी मेरो खेल करियरका पिता हुन्। मेरो केरियरको एक महत्वपूर्ण र प्रेरक पात्र।’
युनाइटेडमा सानदार रूपमा ६ बर्ष बिताएका रोनाल्डो ग्लोबल स्टारका रुपमा उदाए। सन् २००३ मा पोर्चुगलको स्पोर्टिङ सीपीबाट युनाइडेटमा आएका रोनाल्डोले जित्न बाँकी केही रहेन। त्यो अवधिमा उनले तीन प्रिमियर लिग, एक एफएकप, एक च्याम्यियन्स लिग र एक क्लब विश्वकप जितेका जिए।
२००९ मा रियल मड्रिड पुगेर लिजेन्ड बन्दै युभेन्टस् पुगेका उनै रोनाल्डो अहिले पुनः म्यानचेस्टर फर्किएका हुन्। रोनाल्डोको पुनरागमनलाई इंग्लिस मिडियाले ‘घर फर्किएको’ संज्ञा दिएका छन्। ओल्ड ट्राफोर्डमा दोस्रो पटक डेब्यू गर्दा ३६ वर्षे रोनाल्डोलाई समर्थकले भने, ‘वेल्कम होम क्रिस्टियानो रोनाल्डो’ अर्थात् क्रिस्टियानो रोनाल्डो तिमीलाई घरमा स्वागत छ।
रोनाल्डोले पहिलोपटक २००३ को अगस्ट १६ मा युनाइटेडको टिमबाट खेलेका थिए। त्यो उनको साँच्चिकै डेब्यू थियो। शनिबार उनको दोस्रो डेब्यू चलिरहँदा फर्गुसन दर्शकदीर्घामा थिए भने टिममेट सोल्सायर टचलाइनमा। रोनाल्डोको डेब्यूपछि भनेका छन्, ‘धेरै मानिसले यसमा भूमिका निभाएका छन्। रोनाल्डो यहाँ आउन चाहन्थे, यो निकै महत्वपूर्ण हो। उनी म्यान्चेस्टर सिटी जाने हल्ला थियो। त्यसैले क्लबले उनीसँग राम्रोसँग डिल गर्यो र उनी यहाँ आएका छन्।’
उतिबेला सँगै खेलेका सोल्सायर अहिले क्लबमा प्रशिक्षक छन्। उनले पहिलो पटक पाइला टेकेको १८ वर्षपछि क्लबमा प्रवेश गर्दा त्यतिबेला सँगै खेलेका सोल्सायरको रणनीतिमा अब रोनाल्डोले खेल्नुपर्ने छ।
रोनाल्डो र सोल्सायर यी दुई खेलाडीले चार वर्ष सँगै खेलेका थिए। तर ती चार वर्षमध्ये दुई सिजन चोटले थलिएका सोल्सायर खेल्नै सकेनन्। त्यसपछि एक सिजन मात्र उनले खेल्न सके। सोल्सायरले खलाडी जीवन त्यागेको दुई वर्षपछि रोनाल्डोले पनि क्लब छोडेका थिए।
सन् २००९ मा रोनाल्डोले युनाइटेड छोडेर रियल मड्रिड गएपछि पनि युनाइटेडले लिग उपाधि जितेको छ। तर सन् २०१३ यता यसले प्रिमियर लिग जित्न सकेको छैन। त्यही सिजन त हो फर्गुसनले युनाइटेडबाट सन्यास लिएको। त्यसपछि उनी क्लबका निर्देशक र एम्बासडरकारुपमा क्लबमा छन्। उनीबाहेकका कुनै प्रशिक्षक युनाइटेडलाई घरेलु लिग उपाधि दिलाउन सकेका छैनन्।
तर, रोनाल्डोको पुनरागमनपछि सोल्सायरको नेतृत्वमा युनाइटेडले प्रिमियर लिग जित्ने आशा भने पाएको छ। त्यसैले त रोनाल्डोले भनेका छन्, ‘हो त्यही कारण म यहाँ छु। म यहाँ बिदा मनाउनका लागि आएको होइन। पहिलो यात्रा सफल रह्यो, महत्वपूर्ण उपाधि जितियो जतिबेला मैले युनाइटेडको जर्सी लगाएको थिएँ। धेरै वर्षपछि म फेरि त्यही स्थानमा आइपुगेको छु र फेरि जित्नका लागि यहाँ छु,’ उनले भने।
उनले आफ्नो लागि, समर्थकका लागि र क्लबका लागि अर्को स्तरमा एउटा अवसर रहेको बताए। ‘म तयार छु र मलाई लाग्छ आउँदो तीन वा चार वर्षमा केही ठूलो गरेर देखाउनेछु।’ र, युनाइटेडको घरेलु लिग जित्ने लामो समय देखिको प्रतीक्षा पूरा गर्ने जिम्मेवारी फर्गुसनका चेला सोल्सायर र रोनाल्डोको तालमेल महत्वपूर्ण हुनेछ।