शुक्रबार, वैशाख २१, २०८१

सुल्झिएन सत्यनारायण हत्याको गुत्थी, के गर्दैछ प्रहरी?

ललितपुरको सानेपास्थित आफ्नै कोठामा मृत भेटिएको दुई महिना कटिसक्दा पनि प्रहरीले भारतीय नागरिक सत्यनारायण पारिखको हत्यामा संलग्न व्यक्ति पहिचान गर्न सकेको छैन। कुनै ठोस ‘क्लु’ फेला पर्न नसक्दा प्रहरीका लागि यो घटनाको अनुसन्धान झन् जटिल बन्दै गइरहेको छ।
 |  आइतबार, भदौ २७, २०७८

अनिल यादव

अनिल यादव

आइतबार, भदौ २७, २०७८

काठमाडौं– ललितपुरको सानेपास्थित आफ्नै कोठामा मृत भेटिएको दुई महिना कटिसक्दा पनि प्रहरीले भारतीय नागरिक सत्यनारायण पारिखको हत्यामा संलग्न व्यक्ति पहिचान गर्न सकेको छैन। कुनै ठोस ‘क्लु’ फेला पर्न नसक्दा प्रहरीका लागि यो घटनाको अनुसन्धान झन् जटिल बन्दै गइरहेको छ। 

triton college

‘हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं,’ महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले भने, ‘सत्यनारायणको सम्बन्धको पाटोदेखि त्यसरात उनको डेरा नजिक भएको चहलपहलको सिसिटिभी फुटेज  पनि केलाइरहेका छौं। तर, अझै ठोस क्लु भेट्न सकिएको छैन।’

भारत राजस्थानका सत्यनारायण २५ वर्षदेखि काठमाडौंमा बस्दै आइरहेका थिए। गत असार २० गते बिहान आफ्नै कोठामा टाउकोको चार–पाँच ठाउँमा ह्यामरले हिर्काएको, कोठाभर रगत लतपतिएको अवस्थामा उनको शव फेला परेको थियो। घटनाको ‘क्राइम सिन’ विश्लेषण गर्दा प्रहरीलाई उनको हत्या भएको निष्कर्ष निकाल्न ढिला भएको थिएन, तैपनि कुनै संकेत नपाउँदा प्रहरीले अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन।

प्रहरीले सुरुदेखि नै यो घटनाको अनुसन्धान दुई कोणबाट गरिरहेको थियो। एउटा चोर–डाँकाको एंगलबाट र अर्को सत्यनारायणसँग जोडिएको रिसबी या दुश्मनी। 

प्रहरीले अपराधी पत्ता लगाउन सत्यनारायण बसेको घर वरपरको सीसीटीभी फुटेज पनि जाँच गरिसकेको छ। घर वरपर राति चार जना मान्छेहरुको चहलपहल पनि देखिएको अवस्था छ तर उनीहरुको पहिचान भने हुन सकेको छैन। ‘सिसिटिभीबाट उनीहरुको अनुहार स्पष्ट नदेखिँदा उनीहरु को थिए, त्यो पहिचान हुन सकेको अवस्था छैन,’ एसपी कोइराला भन्छन्, ‘सिसिटिभीमा देखिएका उनीहरुको पहिचान हुन सके थप केही खुल्थ्यो कि! हामी कोसिसमै छौं।’

corrent noodles
Metro Mart

५९ वर्षीय सत्यनारायण सानेपास्थित राम मन्दिर नजिक तीन तले घरको पहिलो तलामा दुई कोठे फ्ल्याट भाडामा लिएर बस्दै आइरहेका थिए। भुइँ तला खाली नै थियो भने दोस्रो तलामा घरबेटी बस्थे। सत्यनारायण न्युरोडमा रहेको एटलान्टिक कम्प्युटर प्रालिमा सेल्सम्यानको काम गर्थे । तर, लकडाउनकै समय मोटरसाइकल दुर्घटनामा परेर दायाँ खुट्टामा चोट लागेपछि उनी काममा विरलै जान्थे। 

बिरामी भएका कारण उनले खाना बनाउनका लागि एक जना महिला सहयोगी राखेका थिए, जो हरेक दिन बिहान खाना बनाइदिएर जान्थिन्। तर, असार १९ र २० गते बिहान कोठा आउँदा ढोका नखुलेपछि उनले छिमेकीलाई खबर गरेकी थिइन्। त्यसपछि छिमेकी हुँदै घटना प्रहरीसम्म पुगेको थियो।  

अनि, प्रहरीले ढोका खोलेर हेर्दा सत्यनारायण घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए। प्रहरी पुग्दा भान्साकोठाको झ्यालको सिसा फुटाइएको अवस्थामा थियो, जाली च्यातिएको थियो। कोठामा ह्यामर पनि भेटिएको थियो। सँगसँगै दराज पनि फोडिएको अवस्थामा थियो। 

प्रहरीको प्रारभ्मिक अनुसन्धानले सत्यनारायणलाई चोरी या डकैत गर्न आएका व्यक्तिले त्यही ह्यामरले हिर्काएकोे देखाएको थियो। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले त्यतिबेलै बताएकी थिइन्, ‘कोही झ्याल फोरेरभित्र छिरेको  जस्तो देखिन्छ। घटनाको प्रकृति र घटनास्थल हेर्दा लुटेरासँगको मुठभेडमा परी तारिकको मृत्यु भएको हो कि जस्तो देखिन्छ।’

तर, थप ‘क्लु’ नभेटिँदा प्रहरीको अनुसन्धान त्यो अनुमानभन्दा अगाडि बढ्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धानमा त्यतिबेला तालिमप्राप्त कुकुर पनि प्रयोग गरेको थियो तर राति ठूलो पानी परेकाले कुकुरबाट पनि कुनै संकेत मिल्न सकेन।

‘हत्याका लागि कुनै ठूलो हतियार प्रयोग गरिएको छैन, ह्यामर प्रयोग गरिएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, ‘त्यसैले चोर या डाँकाले नै गरेको हो भन्नेमा पनि अन्योल छ। सत्यनारायण आर्थिक हिसाबले त्यस्तो सबल मान्छे देखिँदैनन्, त्यसकारण पनि पैसाकै कारण उनको हत्या भयो भन्न सक्ने अवस्था छैन।’

सत्यनारायण १३ वर्षदेखि त्यही घरमा भाडामा बस्दै आइरहका थिए। काठमाडौंमा नाताले भाइ पर्ने सञ्जय पारिख र उनी एउटै कम्पनीमा काम गर्थे। काठमाडौंमा उनको आफ्नो भन्नु बाँकी कोही थिएनन्, सञ्जयबाहेक। बिरामी भएका बेला सञ्जयले धेरैपल्ट उनलाई भारत घर फर्कन सुझाएका थिए। तर, उनकी श्रीमतीको ८ वर्षअघि नै निधन भइसकेको थियो र भएकी एक छोरीको पनि बिहे भइसकेकाले उनी यतै बसिरहेका थिए। ‘काठमाडौंलाई उनी आफ्नै ठान्थे, तर त्यही काठमाडौंले उनको ज्यान लियो,’ घटना भएको दिन सञ्जयले हामीसँग भनेका थिए। 

सत्यनारायाणसँग कसैको रिसिबी, झगडा या दुश्मनी पो थियो कि, प्रहरीले यो एंगलबाट पनि अनुसन्धान नगरिरहेको होइन, तर अहिलेसम्म कुनै संकेत मिल्न सकेको छैन। ‘काठमाडौंमा सत्यनारायाण्को आफन्त, नातागोता कोही नहुँदा पनि अनुसन्धान जटिल बनेको हो, नत्र केही न केही क्लु मिल्न सक्थ्यो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत अहिलेसम्म सत्यनारायणलाई मार्नुपर्ने खास कारण फेला नपरेको बताउँछन्। 

प्रहरीले घटनास्थलबाट सत्यनारायणले प्रयोग गर्ने दुइटा मोबाइल समेत बरामद गरेको थियो। तर, ती मोबाइलमार्फत गरिएको प्राविधिक अनुसन्धानले पनि कुनै ‘क्लु’ दिन सकेको छैन।

योबीचमा प्रहरीले सत्यनारायणको कोठामा काम गर्न आउने महिलादेखि उनका सहकर्मी, साथीसंगी सबैलाई निगरानीमा राखेर अनुसन्धान नगरेको होइन, तैपनि घटना समाधानतर्फ मोडिएको छैन। 

‘कसैसँग रिसिइबी या दुश्मनी नै रहेछ भने त अपराधी पत्ता लाग्छ नै तर चोर–डाँकाले नै मारेको हो भने चाहिँ हामीलाई थप जटिल हुने देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने। 

प्रकाशित: Sep 12, 2021| 17:32 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।