काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशको राष्ट्रिय महिला टिमबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भर्खरै सुरु भएको छ। एन्फाले आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला टिमको प्रतिस्पर्धा ठिक पाँच बजेबाट सुरु भएको हो।
नेपाली टिमको कप्तानी रेनुका नगरकोटेले सम्हालेकी छन् भने बंगादेशी टिमको कप्तानी सविता खातुनले सम्हालेकी छन्।
आजको खेलमा सावित्रा नभएको मौका छोपी बंगलादेशी टिम नेपालविरुद्ध जित निकाल्न चाहन्छ। गएको बिहीबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा पनि बंगलादेशी टिमले दोस्रो हाफमा नेपाली टिमलाई दबाबमा राखेका थिए। यद्यपि उक्त खेल नेपालले २–१ गोलले जितेको थियो।
दशरथ रंगशालामा नेपाली महिला टिमले खेलेको पहिलो खेलमा उसले जित निकालेको थियो। त्यसैले घरेलु मैदानमा नेपाली टिम बंगलादेशमाथिको जितको लय कायम राख्न चाहन्छ।
अहिलेसम्म नेपालले बंगलादेशसँग ७ खेल खेलेको छ। तीमध्ये कुनै पनि खेलमा बंगलादेशले नेपालमाथि जित निकाल्न सकेको छैन। त्यसमाथि गएको बिहीबार भएको खेलमा बंगलादेशले नेपाली पोस्टमा प्रहार गरेको दोस्रो गोल थियो।
त्यसअघि बंगलादेशले २०१८ मा ओलम्पिक छनोट खेलमा नेपालविरुद्ध पहिलो गोल गरेको थियो। म्यानमारमा भएको त्यो खेल १–१ गोलको बराबरी भएको थियो।
गएको बिहीबार मात्र नेपालका लागि डेब्यू गरेका सविता राना र प्रिती राईले एक एक गोल गरेका थिए। बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन्। त्यो खेलका दौरान नेपालका अर्का खेलाडी रश्मी कुमारी घिसिङ र सृजना सिंहले पनि डेब्यू गरेका थिए।
खेलको १४औं मिनेटमा सबिताले गोल गरेकी थिइन् भने २३ औं मिनेटमा प्रितीले गोल गरिन्। त्यसपछि खेलको ८४ औं मिनेटमा बंगलादेशकी खातुनले गोल फर्काएकी थिइन्।
उक्त खेलपछि नेपाली टिमका प्रशिक्षक ग्यारी फिलिप्सले नेपालले त्योभन्दा राम्रो खेल्न सक्ने बताएका थिए। ‘जुन दोस्रो गोल थियो। त्यो हामीले कसरी खेल्न सक्छौं भन्ने एक नमुना हो। हामीले कृत्रिम टर्फमा मात्र अभ्यास गरिरहेका कारण मैदानमा खेल्न गाह्रो भयो,’ ग्यारीले भनेका थिए।
यता बंगलादेशका प्रशिक्षक स्लाम छोटोङले पछिल्लो खेल अनुमान गरेजस्तै प्रतिस्पर्धा भएको बताएका थिए। उनले भनेका थिए, ‘सोचेजस्तै प्रतिस्पर्धात्मक खेल भयो। लामो समयपछि भएको खेल हो। कस्तो होला भन्ने थियो। तर पछिल्लो ६ हप्ताबाट राम्रो अभ्यास गरिरहेका थियौ, त्यहीअनुसारको खेल भयो। मलाई लाग्छ उनीहरुले दैनिक राम्रो गर्दै जानेछन्।’
उनले अगाडि भनेका थिए,‘हामी गल्ती सुधार गर्नेछौं। यो मैदानमा अर्को खेल अझै राम्रो गर्नेछौं। म नेपाली टिमलाई शुभकामना दिन चाहन्छु।’ आज दुवै टिम पछिल्लो खेलमा गरेको गल्ती सुधार गर्दै अघि बढ्न चाहन्छन्। त्यसैले आजको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ।
एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।
एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। एसियाली कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।