सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पश्चिम नेपालका थारु समुदाय अट्वारी मनाउँदै

मध्याह्नमा नुहाइधुवाइ गरी व्रतालुहरुले गुइँठामा बालेको अग्नीको विधिपूर्वक पूजाआजा गरी अन्दीको रोटी, फलफूल, दूधलगायतका परिकार खाने गर्दछन्।
 |  आइतबार, भदौ २७, २०७८
nespernesper

भीम चौधरी

भीम चौधरी

आइतबार, भदौ २७, २०७८

धनगढी- कोभिड–१९ को पहिलो लहरका बेला जारी निषेधाज्ञाका कारण अट्वारी पर्व मनाउन नपाएका कैलाली र कञ्चनपुरलगायत पश्चिम नेपालका थारु समुदायले यस वर्ष भने हर्सोल्लासका साथ अट्वारी मनाइरहेका छन्।

triton college

यो वर्ष गाउँघरमा बाक्लै चहलपहल रहेको थारु अगुवा माधव थारुले बताए। ‘स्वास्थ्य अवस्था खराब हुँदा तीन वर्षदेखि व्रत बस्न सकेको थिइनँ यो वर्ष त अट्वारी व्रत बसेको छु,’ उनले भने।

अट्वारी पर्वमा थारु समुदायले निराहार व्रत बसेर दुई दिनसम्म मनाउँदै  सूर्यको उपासना गर्ने गर्दछन्। अट्वारी पर्व थारू समुदायको माघीपछिको ठूलो पर्व हो। विशेष गरेर  पुरुषहरु निराहार व्रत बसेर विवाहित दिदीबहिनीको दीर्घायू, सु–स्वास्थ्य एवम् सुखमय जीवनको कामनासहित मनाउने गर्छन्। केही महिलाहरु पनि स्वच्छाले व्रत बस्ने गर्छन्। 

आइतवार मनाइने अट्वारी पर्व विगतमा भदौदेखि दसैंसम्मको सबै आइतबार व्रत बसेर मनाइने गरिन्थ्यो। हाल भने कुसे औंसीदेखि पाँच आइतबार मनाइन्छ र पर्व भने अचेल दुई दिन मात्रै मनाइन्छ।

व्रतालुले शनिबार मध्यरातमा भाले नबास्दै दर खाने चलन छ। दर खाएकाहरु पहिलो दिन अर्थात आइतबार मध्यान्हसम्म पानीसमेत नखाइ व्रत बस्ने गर्दछन्। मध्याह्नमा नुहाइधुवाइ गरी व्रतालुहरुले गुइँठामा बालेको अग्नीको विधिपूर्वक पूजाआजा गरी अन्दीको रोटी, फलफूल, दूधलगायतका परिकार खाने गर्दछन्।

Metro Mart
vianet

दोस्रो दिन बिहानै नुहाइधुवाइ गरेर व्रतालुहरुले अघिल्लो दिनजस्तै पूजाआजा गरेर पाकेका मिठामिठा परिकार खाने चलन छ। यो दिन विशेषगरी, भात, माछा, मासु, फुलौरी, खरियालगायतका परिकार खाइन्छ।

अट्वारीको दोस्रो दिनलाई फरार भनिन्छ।  व्रतालुहरुले दोस्रो दिन खाने खानाका परिकारसमेत आफूले खानुभन्दा पहिले एक भाग निकालेर छुट्टै राख्ने गर्दछन्।

यसरी दुई दिनसम्म छुट्टयाएर राखेको अन्दीको रोटी, फुलौरी, खरिया, खुर्मा, फलफूल, माछालगायतका परिकार पर्वको दोस्रो दिन आफ्नो विवाहित चेलीलाई कोसेली दिने चलन छ।

यसरी माइतीपक्षले विवाहित छोरीचेलीलाई दिइने उपहारलाई ‘अग्रासन’ भनिन्छ। अट्वारी पर्वमा विवाहित चेलीले माइतको अग्रासन नपाए दुःखी हुन्छन् भन्ने विश्वास छ। त्यसैले सकेसम्म सबै परिवारले अट्वारीको व्रत बस्ने गरेका हुन्।

अग्नी पूजाको रुपमा सूर्यको पूजा गरेर अट्वारी पर्व मनाउने चलन रहेको थारु बुद्धिजिवी बताउँछन्। ‘थारु समुदाय प्रकृति पूजक रहेकाले सूर्यको प्रतीक मानेर अग्नीको पूजा गरी अट्वारी पर्व मनाउने गरेको थारु अगुवा माधव चौधरीले बताए।

सूर्यले ताप, शक्ति र उज्यालो दिने भएका कारण अट्वारी पर्वमा सूर्य देवताको पूजा गरेमा सुख, शान्ति र दीर्घ जीवन मिल्ने थारु समुदायको विश्वास छ।

किन मनाइन्छ अट्वारी

प्रकृतिपूजक थारू समुदायमा खास गरेर यो पर्व सूर्यको पूजा गरेर मनाइन्छ। आइतबारलाई रविबार पनि भनिन्छ। रवि भनेको सूर्य (सुरज) अथवा अग्नी। काल रात्रीमा सूर्यको जन्म भएको हो र संसार उज्यालो भएको हो भन्ने किम्वदन्ती अनुसार सूर्यले गर्दा मान्छे मात्रै होइन यस पृथ्वीमा बस्ने हरेक प्राणीको जीवन सहज भएको विश्वासका आधारमा पर्व चलेको मानिन्छ।

पर्वको अर्को मिथक महाभारतसँग जोडिएको छ। पाँच पाण्डवमध्ये सबैभन्दा बलिया भीम थिए। कौरव र पाण्डवको लडाईंका बेला उनी रोटी पकाउँदै थिए। लडाई चरमोत्कर्षमा पुगेका बेला उनी पकाउँदा पकाउँदैको राटी तावामै छोडेर लडाईंमा हिँडे। लडाईंबाट फर्किंदा उनी भोकाएका थिए। तावाको एकापट्टी मात्र पाकेको रोटी खाएर पेट भरे। सोही किम्वदन्तअनुसार अट्वारीमा पकाइने रोटी एक पट्टी मात्र पकाइन्छ। र, अट्वारीमा भीमलाई पूज्ने गरिन्छ।

भीमले थारू राजा दंगीशरणलाई लडाईंमा सहयोग गरेको र सबैभन्दा बलियो पुरुष भीम भएकाले उनीजस्तै बलियो हुने संकल्पका साथ पुरुषहरु उनकै पूजा गरेर अट्वारी व्रत बस्ने गरेको धारणा छ।

अटवारी कृष्ण अष्टमीपछिको दोस्रो आइतबार अर्थात कुशे औंशी पछिको पहिलो आइतबार मनाउने गरिन्छ। अटवारी, कुशे औंसीको पहिलो आइतबार ‘बर्का अटवारी’ को रुपमा मानिन्छ भने त्यसपछिको चार आइतबार आंशिक रुपमा छुट्की अट्वारी व्रत बस्ने गरिन्छ।

यसरी बर्का र छुट्की गरी पाँच आइतबार ‘अट्वारी’ व्रत बस्ने थारु समुदायमा पुरानो चलन रहेको छ। ‘पाँच अट्वारी’ पछि दशैं आउँछ। रुपन्देहीका साहित्कार बमबहादुर थारूले ‘रुपन्देहीको थारू समाज र संस्कृति’ भन्ने आफ्नो पुस्तकमा कुशे औंसीको आठौं दिनपछिको आइतबारलाई बर्का अटवारी मान्ने कुरा उल्लेख गरेका छन्।

रुपन्देही, नवलपरासी, चितवन लगायतका पूर्वका केही जिल्लामा मनाइने विधि प्रक्रियाहरु पश्चिमा जिल्लाभन्दा फरक छ। तर, कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारूहरुमा भने एकरुपता पाइन्छ।

यसरी मनाईन्छ अट्वारी 

अट्वारी, व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि दर खाने चलन छ। दर खानाका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन, तरकारीको जोहो गरिन्छ । माछाको सुखौरा ९सुकुटी० धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ। अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ।

तर अन्य मासु भने हुँदैन। सागमा पोंइ अनिवार्य जस्तै हुन्छ। भिन्डी, टोरैं, ठुसा ९मास जस्तै एक प्रकारको दाल बाली, झिलिङ्गी, सिल्टुङ० लगायतका तरकारी हुन्छ।

बाटुलो रोटी सूर्यको प्रतीकात्मक परिकारको रुपमा लिइन्छ। यो पर्वमा रोटी अनिवार्य हुन्छ। अँट्वारीमा अन्डी र र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने अम्बा, केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाई पानी पनि हुन्छ।

सूर्य आगोको मुख्य स्रोत हो। सूर्य आफैंमा अग्नी हो। त्यसैले सबैभन्दा पहिले अग्नी  अथवा सूर्यलाई प्रसादको रुपमा आगो दिने चलन छ। अर्को दिन सोमबार, ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ। फर्हार अटवारीको अन्तिम पूजा हो । यस दिन व्रतालुहरु बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन्।

यो पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रुपमा पनि लिने गरिन्छ। लामो समयसम्म आफ्नो माइता जान नपाएका चेलीबेटीहरु यस पर्वमा आफ्ना दाजु भाइ तथा परिवारसँग भेट्न पाउँछन्।अट्वारीको सामाजिक महत्व रहेको धनगढी उप–महानगरपालिका वडा नम्बर ५ जाइका विनय चौधरी बताउँछन्। उनका अनुसार अट्वारीले विवाहित छोरी तथा उनको परिवार र माइती पक्षबीचको सम्बन्धलाई सुदृढ बनाउन भूमिका खेलेको हुन्छ।

अट्वारीमा सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १ गतेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयअनुसार कैलाली र कञ्चनपुरमा अट्वारीमा सार्वजनिक बिदा दिइएको हो।


प्रकाशित: Sep 12, 2021| 09:25 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।