काठमाडौं- काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनसहितका खेलाडीलाई सम्मान गरेको छ। संघले शनिबार १० हजार नगदसहित पलेसालाई सम्मान गरेको हो।
संघका उपाध्यक्ष महर्जनले व्यक्तिगत रुपमा पलेसालाई नगद १ लाखसहित सम्मान गर्ने प्रतिबद्धता जनाएका छन्। त्यस्तै, नेपाली पारालिम्पिक टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ।
कार्यक्रममा काठमाडौं जिल्ला तेक्वान्दो संघमा मनोनित उपाध्यक्ष राजेन्द्र पुजारी, सह–सचिव मनोजकुमार शाह तथा सदस्य घनश्याम कार्की, सानुबाबु महर्जन, दशरत्न शाही र लालबहादुर मगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो।
हालै सम्पन्न १०औं कोरियन एम्बासडर भर्चुअल राष्ट्रिय पुम्से प्रतियोगिताको आ–आफ्नो विधामा उत्कृष्ट घोषित काठमाडौंका खेलाडी मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङ र मधुसुदन सापकोटा, काटेश्वर तेक्वान्दो डोजाङकी सन्ध्या लामा तथा स्युचाटार तेक्वान्दो डोजाङका राम गोले र लक्ष्मण गोलेलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो।