शनिबार, भदौ ६, २०८३

घाँस काट्ने र दुबो उखेल्नेलाई पैसा दिने होइन : डा. महत

डा. महतले नयाँ आर्थिक वर्षको बजेटमा प्रशासनिक एवम् सुरक्षा खर्च घटाउन सुझाव दिएका छन्। 
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

काठमाडौं- पूर्वअर्थमन्त्री डा. रामशरण महतले घाँस काट्ने र दुबो उखेल्ने जस्ता अनुत्पादक काममा पैसा खर्च गरिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज गर्नुपर्ने बताएका छन्।

डा. महतले आगामी आर्थिक वर्षको बजेटबारे संसदीय समितिले आयोजना गरेको छलफलमा यस्ता अनुत्पादक कार्यमा बजेट विनियोजन नगर्न सुझाव दिएका हुन्।

उनले नयाँ आर्थिक वर्षको बजेटमा प्रशासनिक एवम् सुरक्षा खर्च घटाउन सुझाव दिए। उनले भने, 'आयोगहरुमा गरिने राजनीतिक नियुक्तिमा खर्चमा बढेको छ। त्यस्ता आयोगमा निजामती र न्यायिक क्षेत्रका विज्ञलाई नियुक्त गर्नुपर्छ। यसो गरिएमा खर्च घट्छ।' डा. महतले प्राविधिक खर्च भने बढाउनुपर्ने बताए। उनले कोरोना भाइरसका कारण स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्ने बताए।

यस्तै चालु योजनालाई प्राथमिकता दिएर मात्र नयाँ आयोजनाबारे छलफल अघि बढाउनुपर्ने उनको सुझाव छ। डा. महतले बिनातयारी ठूलो आयोजनामा धेरै रकम विनियोजन गर्दा खर्च नहुने बताए। उनले प्राविधिक र आर्थिक पक्षलाई हेरेर मात्र नयाँ आयोजनामा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए।
कृषि, साना उद्योग आदिमा अनुदान व्यक्तिका नाममा नदिई संस्थागत रुपमा दिनुपर्ने उनले बताए। उनले कृषि क्षेत्रमा धेरै सम्भावना रहेकाले युवालाई कृषि क्षेत्रमा संलग्न हुने वातावरण बन्ने गरी बजेट बनाउन पनि सरकारलाई सुझाव दिए। यस्तै उनले एउटा प्रदेशबाट अर्काे प्रदेशमा सामान लैजाँदा कर लगाउने प्रावधान बजेटमा नराख्न सुझाव  दिएका छन्।

 

प्रकाशित: May 03, 2020| 18:36 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्