न्युयोर्क- कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ।
“यो अत्यन्त हृदय विदारक छ, अपूरणीय क्षति भएको छ, असंभव र अकल्पनीय घटना भएको छ, मैले पत्याउन सकिरहेको छैन,” न्युयोर्कका मेयर बिल डे ब्लासियोले भने।
एउटै नर्सिङ होममा यति धेरै मानवीय क्षति भएको सायद यो अमेरिकाकै दुर्लभ घटना भएको उनले बताए। नर्सिङ होममा मृत्यु भएकाहरुको तत्काल अन्त्येष्टि पनि नगरिने भएको छ। कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने डरले उनीहरुको शवको अहिले यत्तिकै राखिएको छ।
अमेरिकाको न्युयोर्कलाई कोरोना भाइरसको केन्द्र विन्दु मानिएको छ। कोरोना भाइरस फैलिन थालेदेखि नै न्युयोर्कमा संक्रमित हुने र मृत्यु हुनेको संख्या अत्यधिक छ। शनिबार दिउँसोसम्म अमेरिकामा कुल ६५ हजार ७७६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै २३ जनाको मृत्यु भएको छ। त्यसैगरी कुल संक्रमितको संख्या ११ लाख ३१ हजार ४९२ पुगेको छ।