काठमाडौं- हाम्रो पात्रोले आईओएस प्रयोगकर्ताका लागि ‘न्युज विजेट’ र ‘क्यालेन्डर विजेट' सार्वजनिक गरेको छ। एपले शुक्रबारको अपडेटमार्फत् ‘क्यालेन्डर विजेट’ का साथै नयाँ ‘न्युज विजेट’ समेत सार्वजनिक गरेको हो।
यस एपले समाचार र तिथिमितिको अपडेट लिन उपलब्ध विजेट प्रयोग गरेर प्रयोगकर्तालाई सजिलो हुनेछ। क्यालेन्डर विजेट यसअघि नै आईओएस एपमा उपलब्ध रहेको थियो। तर यसपटक त्यसमा परिमार्जन गर्दै आकर्षक डिजाइन दिइएको हाम्रो पात्रोले जानकारी दिएको छ।
‘न्युज’तर्फ एक मात्र समाचार देखिने सानो विजेट र चार ओटा समाचार देखिने ठूलो विजेट गरी दुई ओटा विकल्प रहेका छन्। समाचार विजेटमा विभिन्न न्युज पोर्टलमा प्रकाशित पछिल्ला समाचारहरूको अपडेट प्राप्त गर्न सकिनेछ। विजेटबाट समाचार र पात्रोलाई आफ्नो सहजता अनुसार मिलाएर राख्ने सुविधा समेत छ।