औषधी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले आफूहरुलाई विभेद गरेको गुनासो गरेका छन् । अन्य उद्योगहरुलाई चैत मसान्तको तुलनामा व्याजदरमा २ प्रतिशत कम गरी गणना गर्ने व्यवस्था गरे पनि औषधी व्यवासायीको हकमा भने सो व्यवस्था लागु नहुने बताएपछि व्यवसायीहरुले राष्ट्र बैंकसँग गुनासो गरेका हुन्।
आफ्नो ज्यानलाई नै दाउमा राखी औषधी उत्पादन र विक्रीवितरण गर्दै आइरहेको औषधी उद्योग र व्यवसायलाई सो सुविधाबाट बन्चित गराउँदा दुःख लागेको औषधी व्यवसायी संघले विज्ञप्ति जारी गरी जनाएको छ ।
यही वैशाख १६ गते नेपाल राष्ट्र बैंकले जारी गरेको कोभिड १९ को बेलामा निजी क्षेत्रलाई दिएको राहतको व्यवस्था अनुसार उद्योगी–व्यवसायीलाई दुई प्रतिशतले ब्याज छुट गरे पनि औषधी, खाद्यान्न लगायतका व्यवासायलाई भने सो छुट दिएको थिएन ।
दुई प्रतिशत केहि दिनअघि कोरोना प्रभावितहरुलाई राहात स्वरुप ल्याएको छुट सुविधाबाट औषधि व्यवसायीलाई अलग गरिएको भन्दै व्यवसायीहरुले असन्तुष्ट व्यक्त गरेका छन्।
सबै औषधि व्यवसायी कुनै न कुनै बैंकका ऋणी रहेको र विषम अवस्थाबाट पूर्णरुपमा प्रभावित रहेको अवस्थाप्रति केन्द्रीय बैक बेखवर रहनु नराम्रो भएको संघले जनाएको छ।
त्यस्तै राष्ट्र बैंकले यसरी जारी गरेको विभेदकारी व्यवस्थाले औषधि व्यवसायीको आत्मबल र उर्जामा समेत नैराश्यता पैदा गर्ने भन्दै भोलीका दिनमा व्यवसायीले व्यवसाय
बन्द गर्नु पर्ने अवस्था समेत सिर्जना हुन सक्ने संघले विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै संघले विज्ञप्ति मार्फत नै राष्ट्र बैकलाई सम्पूर्ण औषधि व्यवसायीकोे तर्फबाट ध्यानाकर्षण गराउँदै औषधि व्यवसायीलाई समेत सो व्यवस्थामा समेट्न आग्रह गरेको छ।