चर्चित बलिउड अभिनेता इरफान खानको निधन भएको छ।
हिजो मंगलबार बाथरुममा लडेका ५४ वर्षीय खानको आज बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो।
केही दिनअघि मात्र इरफानकी आमा सइदा बेगमको जयपुरमा निधन भएको थियो। लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएका थिएनन्। आमाको निधन भएसँगै इरफान बिरामी परेको बताइएको छ।
दुई वर्ष अघिमात्र इरफानले आफ्नो बिमारीको बारेमा थाहा पाएका थिए। उनलाई न्युरो इन्डोक्राइन ट्युमर भएको छ। इरफानले ट्विट गर्दै आफूलाई सो रोग लागेको खुलासा गरेका थिए।
इरफान पछिल्लो समय ‘इंग्लिश मिडियम’ फिल्ममा देखिएका थिए। उक्त फिल्मको छायांकनलगत्तै उनी उपचारको लागि बेलायत पुगेका थिए।
आफ्नो तीस वर्षे अभिनय यात्रामा धेरै फिल्ममा अवार्ड पाएका छन्। कला क्षेत्रमा विशिष्ट योगदान दिएबापत उनलाई सन् २०११ समा पद्मश्री सम्मान प्रदान गरिएको थियो।
इरफानले बिल्लु, पान सिंह तोमर, ये साली जिन्दगी, सात खुन माफ, लन्च बक्स, हैदर, पिकु, तलबबार, और हिन्दी मिडियम, करिब करिब सिंगल जस्ता फिल्ममा अभिनय गरेका थिए।