जेनेभा – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्।
नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा सामान्य कमी आएको छ। अमेरिकामा संक्रमितको कुन संख्या १० लाख नाघे पनि विभिन्न राज्यमा मानिस लकडाउन र सामाजिक दुरीका नियमको बेवास्ता गर्दै घरबाहिर निस्कन थालेका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार ३८४ जनाको मृत्यु भएको छ। यो सहित अमेरिकामा विश्वमै सबैभन्दा बढी ५६ हजार ८०३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकमा मृतकको संख्या १ लाख २४ हजारको हाराहारीमा पुगेको छ।
युरोपेली मुलुकमा समेत गएको २४ घण्टामा दुई हजारको हाराहारीमा मात्र कोरोनाका बिरामीको मृत्यु भएको र संक्रमितको संख्यामा तुलनात्मक रुपमा कमी आएको देखिएको भन्दै लकडाउनमा केही खुकुलो पारिएको र कतिपय मुलुकमा विद्यालयहरु खोल्न थालिएको छ।
हालसम्म विश्वभर ९ लाख २४ हजार ६३७ जना उपचारपछि घर फर्किएका छन्। अझै पनि ५६ हजार २९१ जनाको स्वास्थ्य अवस्था नाजुक छ। हाल संक्रमित कूल संक्रमित १९ लाखमध्ये करिब १८ लाख ८० हजार अर्थात् झन्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ।
युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ९७७ जना, स्पेनमा २३ हजार ५२१ जना, फ्रान्समा २३ हजार २९३, बेलायतमा २१ हजार ९२ जनाको मृत्यु भएको छ।
कोरोना भाइरसबाट बेल्जियममा ७ हजार २०७ जना, जर्मनीमा ६ हजार १२६ जना, नेदरल्यान्ड्समा ४ हजार ५१८ जना र स्विडेनमा २ हजार २७४ जनाको ज्यान गएको छ । यस्तै स्विट्जरल्यान्डमा १ हजार ६६५ जना, आयरल्यान्डमा १ हजार १०२, पोर्चुगलमा ९२८ जना तथा रसियामा ८६७ जनाको मृत्यु भएको छ।
इरानमा ५ हजार ८०६ जना, चीनमा ४ हजार ६३३ जना, ब्राजिलमा ४ हजार ६०३ जना, टर्कीमा २ हजार ९०० जना, क्यानाडामा २ हजार ७०७ जना, मेक्सिकोमा १ हजार ४३४ जना, इन्डोनेसियामा ७६५ जना, इक्वेडरमा ६६३ जनाको मृत्यु भएको छ।
दक्षिण एसियाली मुलुक भारतमा ९३९, पाकिस्तानमा ३०१, बंगलादेशमा १५२, अफगानिस्तानमा ५८ र श्रीलंकामा ७ जनाको मृत्यु भएको छ।