काठमाडौं- स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्यूटका अनुसार सन् २०१९ मा विश्वभरका देशहरुले कुल १ हजार ९०० अर्ब डलर सैन्य खर्च गरेका छन्।
विश्व इतिहासमा पहिलोपटक भारत र चीन सबैभन्दा धेरै सैन्य खर्च गर्ने प्रमुख तीन देशमध्येमा परेका छन्। सैन्य खर्चको रिपोर्ट तयार पार्ने स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्यूट (एसआईपीआरआई) ले सन् २०१९ मा चीनको सैन्य खर्च अनुमानित २६१ अर्ब डलर भएको जनाएको छ।
त्यस्तै भारतले करिब ७१ अर्ब डलर सैन्य खर्च गरेको छ। यो सन् २०१८ को खर्चभन्दा ६.८ प्रतिशत बढी हो।
भारत सूचीमा तेस्रो नम्बरमा छ। दोस्रोमा चीन छ भने पहिलो नम्बरमा रहेको अमेरिकाले अनुमानित ७३२ अर्ब डलर खर्च गरेको छ। यो सम्पूर्ण विश्वमा भएको सैन्य खर्चको ३८ प्रतिशत बराबर हो।
समग्रमा विश्वका देशहरुले सन् २०१९ मा १ हजार ९०० अर्ब डलर आफ्ना सैन्य आवश्यकतामा खर्च गरेका छन्। यो सन् २०१८ को भन्दा ३.६ प्रतिशतले बढी हो। एसआईपीआरआईका रिसर्चर नान तिआनका अनुसार शीत युद्धको समाप्तीपछि को यो सबैभन्दा धेरै सैन्य खर्च हो।
पछिल्लो २५ वर्षमा चीनको खर्च उसको अर्थव्यवस्थाको विस्तारसँगै बढिरहेको छ। चीनको सैन्य लगानीले उसको विश्वस्तरको सेनाको महत्वाकांक्षालाई देखाउँछ। चीनले खुलेरै सैन्य महाशक्तिका रुपमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। सैन्य क्षेत्रमा चीनको लगानीसँगै भारतले पनि सैन्य खर्चमा वढोत्तरी गरिरहेको छ। एसआईपीआरआईका अर्का रिसर्चर सीमोन वेजेमानका अनुसार भारतको पाकिस्तान र चीन दुवैसँगको तनावका कारण उसको सैन्य खर्चमा वृद्धि भएको हो।
सबैभन्दा बढी सैन्य खर्च गर्ने देशहरुमा अमेरिका, चीन र भारतपछि रुस र सउदी अरब छन्। यी पाँच देशले गर्ने सैन्य खर्च सम्पूर्ण विश्वको खर्चको ६० प्रतिशत हुन आउँछ। एसआईपीआरआईका अनुसार, सन् २०१९ मा जर्मनीले आफ्नौ सैन्य खर्चमा १० प्रतिशत वृद्धि गरीप् ४९.३ अर्ब डलर पुर्याएको छ। वृद्धिको अनुपातमा हेर्दा सबैभन्दा बढी खर्च गर्ने १५ देशहरुमध्ये सबैभन्दा धेरै जर्मनीले सैन्य खर्चमा बढोत्तरी गरेको छ।
प्रतिवेदनका अनुसार जर्मनीले रुसबाट खतरा महशुस गरेर सैन्य खर्चमा वृद्धि गरेको हुनसक्छ। यद्यपि, प्रतिवेदनमा कोरोना भाइरस संक्रमणका कारण यो वर्ष विश्वका देशहरुले स्वास्थ्य र शिक्षामा खर्च बढाउनुपर्ने हुँदा सैन्य खर्चमा कटौति हुनसक्ने उल्लेख गरेको छ।