काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्माले सैनिकलाई चारकोठे घर बनाउनका लागि २५ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेका छन्। प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलोपटक सेनाका सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले यस्तो घोषणा गरेका हुन् ।
‘सेनाका सकल दर्जा अवकाश हुँदा कमसेकम ओत लाग्ने ठाउँको सुनिश्चितता गर्न सक्षम हुन् भन्ने मेरो चाहना छ,’ सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले भने, ‘१० वर्ष सेवा गरेका सकल दर्जालाई चारकोठे घर निर्माणका लागि २५ लाखसम्म सहुलियतपूर्ण आवास कर्जा उपलब्ध गराइने छ।’
राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिअनुसार सैनिक रणनीतिको निर्माण गरेर सैनिक मूल ग्रन्थ पुनरवलोकन गर्ने आफ्नो योजना गरेको शर्माले बताए।
काठमाडौं-तराई जोड्ने द्रुतमार्गलाई निर्धारित समयमा पूरा गर्न पहल गर्ने उनको भनाइ थियो।