नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्था मिलाउने बताएका छन् ।
नेपाल राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा गभर्नर अधिकारीले बढी प्रभावित भएका क्षेत्रलाई चालु पँुजी उपलव्ध गराउन सकिने बताएका हुन् । निजी क्षेत्रले पनि बारम्बार सरकारसँग व्यापार व्यवसाय गर्नका लागि चालु पुँजीको आवश्यकता पर्ने भएकोले चालु पँुजीको व्यवस्थापन गर्न माग गर्दै आइरहेका छन् ।
त्यसैगरी कोभिड १९ बाट प्रत्यक्ष प्रभावितहरुको लागि पुनर्कर्जाको सिमा विस्तारै वृद्धि गर्ने पनि अधिकारीले बताएका छन् । सरकारले पुनर्कर्जाको सिमा चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ३० अर्ब राखेपनि कोभिड १९ का कारण लकडाउन हुँदा देशको अर्थतन्त्रमा असर परेको भन्दै राहत स्वरुप पुनर्कर्जाको सिमा दोव्वर बनाई ६० करोड बनाएको थियो ।
गभर्नर अधिकारीले सो सिमालाई अझै बढाउँदै लैजाने जानकारी दिए । त्यस्तै उनले चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने, साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलन समेत कायम गरी पुनर्कर्जा प्रबाह गर्न पुनर्कर्जा कार्यविधि पनि संंशोधन गर्ने जानकारी दिए ।
त्यस्तै बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गर्ने, कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्ने र लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गरिने पनि उनले जानकारी दिएका हुन् ।
कोरोना भाइरसका कारण राष्ट्र बैंकले औपचारिक रुपमा वार्षिकोत्सव मनाउन भने पाएन ।